रामेछाप । नेकपा एमाले रामेछापले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरन्यायिक रूपमा राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ ।
एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा आइतबार जिल्ल सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ । पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली सरकार विरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेको थियो । र्यालीमा ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरिएको थियो ।
जिल्ला प्रशासन कार्यायलय पुगेर एमाले नेताहरूले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई विरोधपत्र बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष पुरुषोत्तम कडरियाले प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र हस्तान्तरण गरे ।
विधिमा रहेर निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नरहेको बताउँदै पार्टी सचिव प्रकाशकुमार कार्कीले गैरन्यायिक रूपमा गरिएको गिरफ्तारको विरुद्ध एमालेले विरोधपत्र बुझाएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालयको गेटमा आयोजित संक्षिप्त कोण सभामा बोल्दै एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सरकारले फाँसीवादी चरित्र देखाएको बताउँदै यसमा सबै सतर्क हुनुपर्ने बताए । उनले राजनीति गर्नु हुँदैन भनेर राज्यका सबै संयन्त्रमाथि चरम राजनीति गर्ने प्रयास भएको भन्दै उनले विरोध जनाए । सरकार वैदेशिक नियोगहरूको इसारामा चलेको श्रेष्ठले बताए ।
पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले राष्ट्रघाती प्रधानमन्त्रीलाई नेपाली जनताले माटोमुनि गाडेको कुरा नबिर्सिन प्रधानमन्त्री बालेनलाई चेतावनी दिए । उनले देशको लागि नेकपा एमाले रगत बगाउन तयार रहेको बताए । सम्पत्ति शुद्धिकरणको कुरा गर्ने बालेन्द्रलाई सो मुद्दा खेपिरहेका आफ्नै पार्टी अध्यक्ष रवि लामिछानेलाई गिरफ्तार गरेर देखाउन पनि उनले चुनौती दिए । कडरियाले भदौ २३ को कुरा गरिरहँदा भदौ २३ र २४ को घटना गराउने नाइके बालेन्द्र साहको हातमा हतकडी लगाउने कानुन नेपालमा भएको कुरा बिर्सन पनि उनले चेतावनी दिए ।

