गोरखा । गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–२ आँपपिपलस्थित जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा इन्द्रराज भट्टराई चयन भएका छन्। काठमाडौंको वनस्थलीस्थित मदर्स बैंक्वेटमा जेठ ९ गते सम्पन्न बृहत् पूर्वविद्यार्थी भेलाले भट्टराईलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।

समाजको नवगठित कार्यसमितिको उपाध्यक्षमा विकास वाग्ले, सचिवमा कल्पना बस्ताकोटी, सहसचिवमा जीवन बल्कुटी तथा कोषाध्यक्षमा अनिल परियार चयन भएका छन्। सदस्यहरूमा गीता मरहट्टा, शितल श्रेष्ठ, दिपेन्द्र न्यौपाने र लक्ष्मीश्वर देवकोटा रहेका छन्।

२०४८ सालमा जनता माध्यमिक विद्यालय आँपपिपलबाट एसएलसी उत्तीर्ण गरेका भट्टराई लामो समयदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनीसँग काठमाडौँ विश्वविद्यालयमा लामो समय प्राध्यापकको रूपमा कार्य गरेको अनुभव समेत रहेको छ।

Nepal Telecome

भट्टराईले गोरखाका विभिन्न शैक्षिक संस्थाहरूमा तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। साथै मोटिभेटिभ स्पिकरका रूपमा विभिन्न समुदायमा पुगेर सहजकर्ताको भूमिका निर्वाह गर्नुका साथै शिक्षक तालिम सञ्चालनमा समेत सक्रिय रहँदै आएका छन्।
नवनिर्वाचित अध्यक्ष भट्टराईले विद्यालयको शैक्षिक उन्नति, पूर्वविद्यार्थीबीच एकता तथा समुदायको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।