काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको जानकारी दिए ।
उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ ।
उनले भने, ‘मे ६ तारिखका दिन क्रोएसियामा सडक दुर्घटनामा परि इलाम सन्दकपुर गाउँपालिका १ निवासी उमेशकुमार फागो र नुवाकोट जिल्लाका देव गुरुङको दुखदः निधन भएको छ । विडम्बना उक्त घटना भएको २३ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन । यसको कारण हाम्रो कुटनीतिक असफलता देखियो ।’
पीडित परिवारले सबै आवश्यक कागजी प्रक्रिया पूरा गरिसक्दा पनि दूतावासबाट आवश्यक सहजीकरण नभएको गुनासो आएको उनले बताए ।
उनले भने, ‘उक्त विषय अस्ट्रेलियामा रहेको दूतावासले हेर्दो रहेछ । पीडामा रहेको परिवारले दिएको जानकारी अनुसार शव नेपाल झिकाउन आवश्यक कागज प्रक्रिया यताबाट सबै गरिसक्दा पनि दूतावासले आवश्यक सहजीकरण गरिदिएको छैन । त्यसैले सरकारले पीडित माथि थप पीडा थप्नु भन्दा पनि आवश्यक सहजीकरण गरेर शव स्वदेश ल्याउने प्रवन्द्ध तुरुन्त गरिदियोस् ।’
सांसद राईले सरकारले पीडित परिवारमाथि थप पीडा नथपी आवश्यक समन्वय र सहजीकरण गरेर शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न माग गरे।



