काठमाडौं । लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आइतबार काठमाडौंमा एकैसाथ विमोचन गरिएको छ ।

आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ तथा अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक–एक कृति गरी कुल २० पुस्तक सार्वजनिक गरिएको हो।

नेपाली साहित्यको इतिहासमा एकैपटक यति धेरै कृति सार्वजनिक गरिएको घटना दुर्लभ मानिएको छ ।

Nepal Telecome

लमजुङको सुन्दरबजार नगरपालिका–९ फेदीकुना निवासी डौलिया प्राध्यापनसँगै साहित्य सिर्जनामा सक्रिय रहँदै आएका छन्।

विमोचन गरिएका कृतिहरूमा कथा, कविता, नियात्रा, सामाजिक उपन्यास तथा जीवनीलगायत विभिन्न विधा समेटिएका छन्।

डौलियाका सार्वजनिक कृतिमध्ये सुगन्ध (कथा संग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (संक्षिप्त जीवनी), पर्खालभित्र, अन्तरमनका आवाज धुन र जीवनको परिभाषा (कविता संग्रह) प्रमुख रहेका छन्।

त्यस्तै अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन शीर्षकका कविता संग्रह पनि एकैसाथ सार्वजनिक गरिएका छन्।

यस अवसरमा अनन्तविजय डौलियाको बालसाहित्य कृति दोस्ती तथा विष्णु गुरुङ (प्यासी) को कविता संग्रह बनपाखाका फूलहरू समेत विमोचन गरिएको थियो।

कृतिहरूको विमोचन कार्यक्रममा जयराज आचार्य, जगमान गुरुङ, विद्यानाथ कोइराला, भागवत ढकाल, भागेश्वरी पंगेनी, वीना पौडेल तथा विजयराज न्यौपाने लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए।

कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको इतिहासमा एकैपटक २० कृति सार्वजनिक हुनु आफैंमा उल्लेखनीय उपलब्धि भएको बताए।

उनीहरूले डौलियाको निरन्तर साहित्य साधना र सिर्जनात्मक योगदानको प्रशंसा गर्दै यसले नेपाली साहित्यलाई थप समृद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साहित्यकार डौलियाका यसअघि प्रतीक्षा (लघुउपन्यास), समयका छालहरू, मातृभूमि, समयको वेग, समयको आवाज र सीमित आकाश (कविता संग्रह), समुन्द्रपारि (यात्रा संस्मरण), सुखद मिलन (उपन्यास) तथा डौलिया वंशावली प्रकाशित भइसकेका छन्।

डौलियाले विसं २०७१ मा तीन तथा विसं २०८१ मा छ कृति प्रकाशन गरेका थिए। आइतबार सार्वजनिक गरिएका कृतिसहित उनका प्रकाशित कृतिको संख्या २९ पुगेको छ।

नेपाली साहित्यमा एकैसाथ २० कृति सार्वजनिक गरेर उनले नयाँ कीर्तिमानसमेत कायम गरेको चर्चा कार्यक्रममा गरिएको थियो।