एजेन्सी । कोरोना भाइरस चीनको वुहानबाट सुरु भएर यतिबेला विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसहरु अमेरिकाले गुमाउन पुगेको अवस्था छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस नामसमेत दिएका थिए । तर यतिबेला भने चीनले नियतवश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ । मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो।
सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यो महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँदै आएका थिए। तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै उनले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आएका छन् । यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो ।

Nepal Telecome

मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरू अर्बौँ डलरको क्षति सहन बाध्य भएको उल्लेख छ । चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ ।

मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरूलाई विपक्षी बनाइएको छ ।

स्रोतः बीबीसी