दान बहादुर बुढा, नेपाल न्यूज बैंक
मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन् । बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो । गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो ।
बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए ।
रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको भाइरल ज्वरो नर्खजी गाउँका चार बस्तीमा चारसय भन्दा बढी स्थानीयमा तीव्र रूपमा फैलिएको हो ।
नर्खजिमा रहेको स्वास्थ्य संस्थामा बिरामीहरुलाई बस्ने, आराम गर्ने बेड नहुँदा बिरामीहरु भुइमा र स्वास्थ्य संस्थाको पेटीमा आराम गर्ने गरेका छन् ।
प्रतिनिधी सभा निर्वाचन आउन केही दिन बाँकी रहेको बेला उम्मेदारहरुले आफ्ना लागि भोट मागीरहे पनि विरामीहरुका लागि कुनै पहल नभएको गुनासो आउने गरेको छ ।
नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
खत्याडगाँउपालिका वडा नम्बर ९ मा फागुन पहिलो साताबाट फैलिरहेको ज्वरोबाट धेरै जना स्थानीय बिरामी भइरहेको भन्ने खबर आएपछि जिल्ला अस्पताल, ठीनी ,खत्याड गाँउपालिकाको स्वास्थ्य शाखा र पालिकालगायत अन्य सरोकारवालासँग पहल भइरहेको जनाइएको छ ।
एक जनाको मृत्यु भएको खबर सुनेपछि खत्याड गाँउपालिकाबाट औषधीसहितको टोली नखैजी गाँउतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।