काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् ।

मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् ।

उनका अनुसार समाजमा अझैपनि केही स्तरमा भेदभाव कायम रहनुका साथै स्वास्थ्य क्षेत्रबाहिरका सरोकारवालाहरूको भूमिका पर्याप्त रूपमा समेट्न नसकिएको अवस्था छ ।

Nepal Telecome

उनले भने, ‘क्षयरोग रोग उपचार गरेर निको हुने रोग हुँदाहुँदै केही कारणले डिस्क्रिमिनेसन हुनसक्छ । सायद स्वास्थ्य भन्दा बाहिरी क्षेत्रले गर्नुपर्ने काम पनि धेरै होलान । जुन हामीले समेट्न सकेका छैनौं । सायद हाम्रा प्रयासहरु अझै नपुगेको होला ।’

देवकोटाका अनुसार नेपालमा वार्षिक करिब ६९–७० हजार क्षयरोगी अनुमान गरिए पनि तीमध्ये झण्डै ४५ प्रतिशत बिरामी अझै पहिचान बाहिर छन् ।

बिरामी पहिचानका लागि विभिन्न नयाँ विधि अपनाइएको उल्लेख गर्दै उनले घरघरमै पुग्ने कार्यक्रम (हाउसहोल्ड सर्वे) सञ्चालनमा रहेको जानकारी दिए ।

‘नेपालमा ४५ प्रतिशत स्टिमेट गरेका छौं । ६९–७० हजारको हाराहारीमा अर्थात ४५ प्रतिशत जति हामीले पहिचान गर्नै सकेका छैनौं । पहिचान गर्ने तरिकाहरु हामीले प्रयोगमा ल्याइरहेका छौं । विभिन्न हाउसहोल्ड कार्यक्रमहरु पनि छन्,’ उनले भने ।

त्यसैगरी, छिटो र प्रभावकारी पहिचानका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी एक्स–रे परीक्षणलाई समेत विस्तार गरिएको उनले बताए । यसका लागि आवश्यक बजेटसमेत उपलब्ध रहेको र यसै वर्षदेखि कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइने उनको भनाइ छ ।

उनले विगतका सर्वेक्षणहरूले पनि अपेक्षित सुधार नदेखाएको उल्लेख गर्दै समस्या कहाँ भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

‘हामीले जति अनुमान गरेका छौं, वास्तवमै त्यति नै केस छन् कि हामीले पहिचान गर्न नसकेको हो भन्नेमा स्पष्ट हुन जरुरी छ,’ उनले भने ।
घरमै बसेर अस्पताल नआउने प्रवृत्ति पनि बिरामी पहिचानमा चुनौती बनेको उनले औंल्याए ।