काठमाडौं । सरकारले देशभरका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

यसै कार्यक्रम अन्तर्गत ललितपुरको पाटनस्थित मंगलबजारमा पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको उपस्थितिमा अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्य केन्द्र तथा तोकिएका स्थानमा ल्याई औषधि खुवाएका छन् ।

Nepal Telecome

बालबालिकामा कुपोषण न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा स्वास्थ्य सुधार गर्ने उद्देश्यले सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित उमेर समूहका सबै बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।