काठमाडौं । गीतकार मोहित मर्दन थापाको नयाँ गीत ‘काठमाडौंको हावापानी’को रेकर्डिङ सम्पन्न भएको छ । लोकप्रिय पप गायक दिपेशकिशोर भट्टराईको स्वरमा उक्त गीतलाई रेकर्डिङ गरिएको हो । ‘काठमाडौंको हावापानी’मा मोहित मर्दन थापाको शब्द तथा संगीत रहेको छ । गीतको म्युजिक प्रोग्रामिङ दिनेश श्रेष्ठको रहेको छ । गीतमो लुमन स्थापितले गिटारको धून दिएका छन् । ‘काठमाडौंको हावापानी’ गीतलाई डी स्टुडियो पुतलीसडकमा रेकर्डिङ गरिएको हो ।
आजभन्दा करिब ६ महिना अघिदेखि नै तयारीमा रहेको ‘काठमाडौंको हावापानी’ गीतका गीतकार तथा संगीतकार मोहित मर्दन थापाले भने– ‘चर्चित गायक तथा मेरा बालसखा मित्र दिपेश किशोर भट्टराईजीको स्वरमा रेकर्ड गर्न पाउँदा म ज्यादै खुशी छु ।’
त्यसो त दिपेश किशोर भट्टराईले गीतकार मोहित मर्दन थापाको ‘मोहित’ एल्बममा पनि स्वर दिइसकेका छन् भने उनका बुबा अमरस्रष्टा जगतमर्दन थापासँग पनि युगल स्वर दिएका छन् ।
यो गीतको बोलले काठमाडौँको हावापानी र एउटा सुन्दर महिलाको सौदन्यको वर्णन गरेको पाइन्छ। गीतकार थापा अहिले दोस्रो एल्बम निकाल्ने तयारीमा जुटेका छन् । मोहित मर्दन थापाद्वारा बनाइएको विभिन्न म्युजिक भिडियो र गीतहरू हामीले youtube मा हेर्न सक्छौं। थापा रचनाकार मात्र नभएर स्वयं ड्रमर पनि हुन् । विक्रम सम्वत् २०४४ सालबाट सांगीतिक यात्रा सुरु गरेका मोहित मर्दन हालसम्म पनि साङ्गीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी राम्रो एब्स्ट्रयाक आर्टिस अनि साहित्य संगीतको लेखक समेत हुन् ।



