काठमाडौं । फिल्म ‘गौंथली’ को सोमबार साँझ राजधानीमा विशेष प्रिमियर सम्पन्न भएको छ। पहिलो प्रदर्शनपछि उपस्थित दर्शकले फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
निर्माता सुमन गिरीका अनुसार फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपरेका संघर्ष, बाध्यता र सामाजिक यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। प्रिमियरमा सहभागी अधिकांश दर्शकले फिल्मको कथा भावुक र यथार्थपरक रहेको प्रतिक्रिया दिएका थिए।

फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको अभिनयलाई विशेष रूपमा रुचाइएको छ। अरुण क्षेत्रीले अटिजम भएका पात्रको भूमिका निर्वाह गरेका छन्, जसको अभिनयले दर्शकको ध्यान तानेको बताइएको छ।

Nepal Telecome

प्रिमियर कार्यक्रममा कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल लगायत चलचित्रकर्मीको उपस्थिति रहेको थियो। उनीहरूले फिल्मले तत्कालीन नेपाली समाजको यथार्थलाई संवेदनशील र प्रभावकारी रूपमा चित्रण गरेको प्रतिक्रिया दिएका छन्।
निर्देशक कपिल रिजाल र निर्माता सुमन गिरीको संयुक्त लगानी रहेको ‘गौंथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।