काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीलाई नेपालको विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा योगदान गर्न आह्वान गरेका छन्।

विज्ञ तथा अनुसन्धानकर्तासँगको छलफलमा उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिए। नवगठित मन्त्रालय संस्थागत विकासको चरणमा रहेकाले स्वदेश तथा विदेशका विज्ञको सहकार्य आवश्यक रहेको उनले बताए।

Nepal Telecome

मन्त्री पुनले आगामी तीन महिनाभित्र मन्त्रालयको आधारभूत संरचना तयार गर्ने, विश्वविद्यालयमा हुने अनुसन्धानलाई उत्पादनमुखी बनाउने तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए। साथै, सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई)लाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइने पनि बताए।

छलफलमा स्वदेश तथा विदेशका वैज्ञानिक र अनुसन्धानकर्ताले विज्ञान, प्रविधि, एआई, नवीकरणीय ऊर्जा, कृषि प्रविधि र अनुसन्धानमा लगानी बढाउँदै नेपाललाई नवप्रवर्तनमैत्री बनाउनुपर्ने सुझाव दिएका थिए।