काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवस तथा विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा संघका संस्थापक, पूर्वअध्यक्ष तथा वर्तमान नेतृत्वबीच बृहत् भर्चुअल अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
‘हाम्रो विगतको सम्मान, हाम्रो भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संघको स्थापनाकालदेखिका अनुभव आदानप्रदान गर्दै संस्थागत एकता सुदृढ बनाउने र मातृभूमि नेपालको समृद्धिका लागि विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप तथा प्रविधि परिचालन गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा सहभागी संस्थापक, पूर्वअध्यक्ष तथा वर्तमान पदाधिकारीहरूले संघभित्रका विगतका असमझदारी अन्त्य गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। साथै, आगामी दिनमा नेतृत्वभन्दा एजेन्डालाई प्राथमिकता दिँदै गैरआवासीय नेपालीको सामूहिक शक्ति नेपालको विकासमा उपयोग गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।
### संस्थागत एकता र नागरिकताका विषयमा जोड
संघका अध्यक्ष डा. हेमराज शर्माले विगतका असमझदारीलाई पछाडि पार्दै संस्थालाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभयो। उहाँका अनुसार संघले रसुवा, नुवाकोट, बागलुङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा ४५ दिनसम्म राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गरी सहयोग पुर्याएको छ।
राज्य र एनआरएनएबीचको दूरी कम गर्न नागरिकता, मतदान अधिकार तथा सामूहिक लगानीका विषयमा निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उहाँले वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राख्नुभयो। तत्काल देखिएका व्यावहारिक समस्या समाधान गर्दै सबैलाई समेटेर अघि बढ्न वर्तमान नेतृत्व प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सन् २००३ मा सुरु भएको अभियानले छोटो समयमै उल्लेखनीय उचाइ हासिल गरेको बताउनुभयो। पछिल्ला वर्षमा देखिएका आन्तरिक विवादले संस्थालाई कमजोर बनाएको उल्लेख गर्दै उहाँले आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिनुपर्नेमा जोड दिनुभयो।
गैरआवासीय नेपालीको प्रतिष्ठा संस्थाको सुदृढतासँग जोडिएको भन्दै उहाँले विदेशमा रहेका नेपालीको पुँजीसँगै दोस्रो पुस्ताको ज्ञान र सीपलाई नेपालको समृद्धिमा उपयोग गर्नुपर्ने बताउनुभयो।
### सामूहिक लगानीबाट समृद्ध नेपाल निर्माण गर्नुपर्ने
संघका पूर्वअध्यक्ष डा. जीवा लामिछानेले नीतिगत विषयमा मतभिन्नता भए पनि संस्थाको बृहत्तर हितका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। पछिल्लो समय राहत तथा उद्धारका काममार्फत संस्थाको साख पुनः स्थापित गर्ने प्रयास भएकोमा खुसी व्यक्त गर्दै उहाँले व्यक्तिगत क्षमताभन्दा सामूहिक शक्ति प्रभावकारी हुने धारणा राख्नुभयो।
पूर्वअध्यक्ष भवन भट्टले एनआरएनए विश्वव्यापी र गतिशील संस्था भएकाले यसका समस्या तथा चुनौतीलाई सिकाइका रूपमा लिनुपर्ने बताउनुभयो। आफ्नो कार्यकालमा लाप्राक बस्ती निर्माण, विज्ञ सम्मेलन तथा १०० मिलियन अमेरिकी डलरको कोष स्थापनाजस्ता काम भएको स्मरण गर्दै उहाँले संस्थाको संरचनागत सुधार र प्रविधिमैत्री कार्यप्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो।
पूर्वअध्यक्ष महेश श्रेष्ठले विगतका विवादका कारण सरकार तथा राजनीतिक वृत्तमा संस्थाप्रति नकारात्मक धारणा बनेको भए पनि एकता प्रक्रियाले सकारात्मक सन्देश दिएको बताउनुभयो। नेपालमा वैदेशिक लगानीको सम्भावना उपयोग गर्न गैरआवासीय नेपालीको सामूहिक लगानीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले १० अर्ब रुपैयाँको डायस्पोरा इन्भेस्टमेन्ट कम्पनी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्डजस्ता पहललाई प्रभावकारी बनाएर सरकारको विश्वास पुनः आर्जन गर्नुपर्नेमा जोड दिनुभयो।
### विदेशमा रहेका नेपालीको अधिकार र सुरक्षामा जोड
पूर्वअध्यक्ष डा. बद्री केसीले सन् २००१ मा मस्कोबाट सुरु भएको एनआरएनए अभियान आज ९२ भन्दा बढी देशमा फैलिएको उल्लेख गर्नुभयो। ‘बाइ नेपाली फर नेपाली’ र ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यता अभियानका लागि अझै सान्दर्भिक रहेको उहाँले बताउनुभयो।
एनआरएनएको पहलबाट गैरआवासीय नेपाली ऐन तथा वैदेशिक रोजगार ऐन निर्माणमा योगदान पुगेको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीको अधिकार र सुरक्षाका लागि संस्थागत एकता कायम राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
पूर्वअध्यक्ष विनोद कुँवरले एकता प्रक्रियालाई पूर्णता दिन विगतमा भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। एकताका क्रममा सम्बोधन हुन बाँकी विषयलाई खुला मनले समाधान गर्दै सबै पक्षलाई समेट्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले गैरआवासीय नेपालीको अधिकारलाई नेपाल र नेपालीका लागि गरेको योगदान तथा भविष्यमा गर्न सक्ने कामसँग जोडेर स्थापित गर्नुपर्ने बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र सामूहिक लगानीलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो।
पूर्वअध्यक्ष आर.के. शर्माले आगामी १० वर्षका लागि स्पष्ट कार्ययोजना बनाएर संघलाई एजेन्डाकेन्द्रित संस्थाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। रेमिट्यान्सको ठूलो हिस्सा उपभोगमा खर्च भइरहेको अवस्थामा उत्पादनमूलक क्षेत्रमा सामूहिक लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो।
एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई साना लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको हितसँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले एकता प्रक्रियामा भएका सहमति कार्यान्वयन गरी संघलाई राष्ट्रप्रति उत्तरदायी र नेपालको विकासको भरपर्दो साझेदार बनाउनुपर्ने बताउनुभयो।
### कृषि, लगानी र दोस्रो पुस्तालाई जोड्ने सुझाव
कार्यक्रममा अमेरिका, हङकङलगायत विभिन्न देशका प्रतिनिधिहरूले पनि आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। भुवन खरेल, परशुराम भण्डारी, कृष्ण पाण्डे तथा उपमहासचिव कृष्ण पोखरेललगायतले संघको संस्थागत सुदृढीकरण, कृषि तथा कफी खेतीजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी र दोस्रो पुस्तालाई संस्थामा आबद्ध गराउने विषयमा जोड दिनुभएको थियो।
करिब तीन घण्टासम्म चलेको भर्चुअल अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन र सहजीकरण महासचिव डा. चिरञ्जीवी खड्का तथा उपमहासचिवहरू दिनेश घिमिरे, डा. नवराज रौसियार र दीपक गौतमले गर्नुभएको थियो।
कार्यक्रमले संघभित्रको एकता सुदृढ बनाउँदै विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।


