काठमाडौं । मन्त्रिपरिषद्को निर्णयसँगै चलचित्र विकास बोर्डको अध्यक्षमा राजनैतिक नियुक्ति पाएका अभिनेता भुवन केसीले बुधबार कार्यभार सम्हालेका छन्। चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा पुगेर केसीले बुधबार कार्यभार सम्हालेका हुन्।

कार्यभार सम्हालेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केसीले फिल्म क्षेत्रका समस्याहरु समाधान गर्न काम गर्ने बताएका छन्। आफू कलाकारिताकै लागि जन्मिएको बताउँदै उनले फिल्म क्षेत्रको समस्यासँग आफू जानकार रहेको र ती समस्याहरु समाधान गर्नमा आफूले काम गर्ने बताएका छन्।

Nepal Telecome

उनले भने, ‘धेरै समस्या छन्– कलाकारका मात्र नभइ प्राविधिक समस्या पनि छन्। मैले यस्ता समस्या बुझ्दै पनि आएको छु। ती समस्या समाधान गर्ने गरि काम गर्नेछु।’

सँगै केसीले आफूबारेमा सामाजिक सञ्जालमा भइरहेको विवादमा कुनै सत्यता नरहेको पनि बताएका छन्। उनले आफूले चलचित्रकर्मीहरुसँग सल्लाह सुझाव संकलन गर्ने र फिल्म क्षेत्रका समस्याहरु समाधान गर्नमा आफ्नो कार्यकाल केन्द्रित गर्ने बताएका छन्।

केसीलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो। गायन हुँदै अभिनयमा प्रवेश गरेका उनी पछिल्लो समय निर्माताका रुपमा सक्रिय छन्।

राजनीतिक रुपमा एमालेबाट आफ्नो यात्रा सुरु गरेका उनले पछिल्लो पटक केही महिनाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसमा प्रवेश गरेको केही समयमा नै उनलाई चलचित्र विकास बोर्डको राजनैतिक नियुक्ति दिइएको छ।