काठमाडौं । छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ । रङ्गमञ्च तथा चलचित्रमा सशक्त अभिनयका लागि परिचित अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको यस चलचित्रमा अब सनिशा र विजयको जोडीलाई पर्दामा देखिने हो वा अन्य भूमिका त्यो भने खुलाइएको छैन ।
चलचित्रको प्रचारप्रसार स्वरूप केही दिनअघि मात्र अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वरमा रहेको ‘अरे हो नेता जी’ गीत सार्वजनिक गरिएको थियो । युवराज काफ्लेको शब्द र अङ्कित बाबु अधिकारीकै सङ्गीत रहेको उक्त गीतमा समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरिएको छ ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ’जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित चलचित्र हो। यसको कथावस्तु निकै मौलिक छ । सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ’डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा चलचित्र केन्द्रित रहनेछ । चलचित्रको निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसालले चलचित्रमा अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन् । निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।