काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट मकवानपुर–२ बाट उम्मेद्वार बनेका महेश बर्तौलाले मतदाताहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले सामाजिक तथा विकाससम्बन्धी विषय मतदाताहरुले उठाइरहेको र त्यसमा काम गर्न आफू तयार रहेको पनि बताए । एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका वर्तौलाले राष्ट्रिय हित सुदृढ बनाउन नागरिकका दैनिक आवश्यकता सम्बोधन अपरिहार्य रहेको पनि बताए ।

देशको समग्र प्रगतिका लागि नीति, सेवा र संरचनाबीच सन्तुलन आवश्यक रहेको उनको धारणा छ । प्रभावकारी कानून निर्माण, सुशासन र परिणाममुखी सार्वजनिक संस्थामार्फत मात्रै दीर्घकालीन विकास सम्भव हुने उनले उल्लेख गरे ।पूर्वाधार अभावले जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै उनले सडक सञ्जाल विस्तार, यातायात सुविधा सुधार र सुरक्षित आवागमनमा जोड दिए ।

Nepal Telecome

दुर्गम क्षेत्रसम्म पहुँच विस्तार गर्न राज्य र समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । स्वास्थ्य क्षेत्र सुधारबिना सामाजिक विकास सम्भव नहुने उल्लेख गर्दै उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी, जनशक्ति र औषधि आपूर्ति सुदृढ गर्नुपर्ने बताए ।

शिक्षालाई मानव विकासको आधार मान्दै उनले पाठ्यक्रम, प्रविधि र व्यवहारिक सीपलाई जोड्ने नीति आवश्यक रहेको धारणा व्यक्त गरे ।
विद्यालय र उच्च शिक्षालाई रोजगारीसँग जोड्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिए । युवालाई उत्पादन, सीप र उद्यमशीलतासँग जोड्ने कार्यक्रमले आर्थिक गतिविधि बढाउने तथा बेरोजगारी न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ ।

शिक्षामा व्यवहारिकता ल्याउन ‘कमाउँदै पढ्ने’ अवधारणाजस्ता मोडेल उपयोगी हुन सक्ने उनले बताए । विद्यार्थीलाई अध्ययनसँगै सीप र आम्दानीको अवसर दिन सकिए शिक्षालाई आत्मनिर्भर र उपयोगी बनाउन सकिने उनको धारणा छ । क्षेत्रीय विकासमा सन्तुलन कायम गर्न स्थानीय तहसँग समन्वय गर्दै योजना कार्यान्वयन गर्नुपर्ने उनले उल्लेख गरे ।