पोखरा । २६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा भव्य प्रेस मिट सम्पन्न भएको छ।
गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा पोखरास्थित इभेन्ट सेन्टर हलमा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, उद्योगी, सहकारीकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरिप्रसाद पौडेल, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका महासचिव रामप्रसाद आचार्य, एसोसिएसनका सचिव शिवहरी आचार्य, सहसचिव रमेश सन्जेल, केन्द्रीय सदस्य राम बराल, कास्की जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष नवराज बडाल लगायत कास्कीका दुग्ध व्यवसायी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विश्व दुग्ध दिवसको सन्दर्भ, नेपालको दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो। कार्यक्रममा पत्रकारहरूले उठाएका समसामयिक तथा सान्दर्भिक जिज्ञासाहरूको समेत उहाँले जवाफ दिनुभएको थियो।
नेपाल डेरी एसोसिएसनले जारी गरेको विज्ञप्तिअनुसार वि.सं. २०५५ सालमा स्थापना भएको संस्था हाल २८औँ वर्षमा प्रवेश गरेको छ। देशभरका २५ जिल्लामा फैलिएका करिब ३०० भन्दा बढी डेरी उद्योग आबद्ध रहेको यस संस्थाले दुग्ध क्षेत्रको दिगो विकास, किसान उद्योग समन्वय तथा उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने उद्देश्यसहित निरन्तर काम गर्दै आएको जनाएको छ।

विज्ञप्ति अनुसार नेपालमा दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने भए पनि त्यसको आधा मात्र बजारसम्म पुग्ने गरेको छ। निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको र ६ लाखभन्दा बढी कृषक परिवार प्रत्यक्ष रूपमा यस क्षेत्रमा आश्रित रहेको जानकारी दिइएको छ। दुग्ध क्षेत्रले ग्रामीण रोजगारी, महिला सशक्तीकरण, पोषण सुरक्षा, स्वास्थ्य सुधार तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (ँब्इ) ले सन् २००१ मा विश्व दुग्ध दिवसको स्थापना गरेको हो। प्रत्येक वर्ष जुन १ तारिखका दिन मनाइने यो दिवस यस वर्ष विश्वभर २६औँ पटक मनाइँदैछ। हाल विश्वका १०० भन्दा बढी देशहरूले जनचेतनामूलक अभियान, विद्यालय कार्यक्रम, स्वास्थ्य अभियान तथा डेरी उद्योगसँग सम्बन्धित विविध गतिविधिमार्फत यो दिवस मनाउँदै आएका छन्।
यस वर्षको अन्तर्राष्ट्रिय नारा “ऋभभिदचबतष्लन ध्यmभल ँबचmभचक” (महिला कृषकहरूको सम्मान) रहेको छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकास ः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” तय गरिएको छ।
नेपाल डेरी एसोसिएसनका अनुसार विश्व दुग्ध दिवस मनाउनुका मुख्य उद्देश्यहरूमा दुग्ध तथा दुग्धजन्य पदार्थको पोषणीय महत्वबारे जनचेतना फैलाउने, किसान तथा दुग्ध उत्पादकहरूको योगदानको सम्मान गर्ने, महिला कृषकहरूको भूमिका प्रवद्र्धन गर्ने, स्वदेशी दुग्ध उत्पादन तथा उपभोग बढाउने, ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने तथा युवालाई पशुपालन र डेरी व्यवसायतर्फ आकर्षित गर्ने रहेका छन्। साथै स्वस्थ, स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन तथा उपभोग संस्कृतिको विकास गर्दै दुग्ध क्षेत्रसँग सम्बन्धित नीति, बजार र किसानका समस्यामाथि सार्वजनिक बहस सिर्जना गर्ने उद्देश्यसमेत रहेको जनाइएको छ।
विश्व दुग्ध दिवसलाई लक्षित गर्दै नेपाल डेरी एसोसिएसनले जेठ १२ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसअन्तर्गत पोखरामा प्रेस मिट, काठमाडौंमा विद्यालयस्तरीय कविता प्रतियोगिता, काभ्रेपलाञ्चोकमा उपभोक्ता सचेतना कार्यक्रम तथा सातै प्रदेशमा दुग्ध प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ। मुख्य समारोह भने जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा हुने बताइएको छ।
त्यसैगरी, जेठ १३ गते काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरिने भएको छ। महिला कृषकहरूको योगदानलाई सम्मान गर्दै युवा पुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता तथा सकारात्मक अभिव्यक्तिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवस २०२६ लाई सफल बनाउन सञ्चारकर्मी, साहित्यकार, शिक्षक, विद्यार्थी तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। साथै सरकार, निजी क्षेत्र, सहकारी संस्था तथा किसानबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन सबै पक्षको साथ आवश्यक रहेकोमा जोड दिइएको छ।