काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा सुस्त देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित भएको छ ।
धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको समग्र वृद्धिलाई कमजोर बनाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानबालीको उत्पादन घटे पनि पशुपन्छी, तरकारीबाली, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक अवस्थामा कायम राख्न सहयोग गरेको छ । यी उपक्षेत्रको योगदानका कारण कृषि क्षेत्र ऋणात्मक हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।
तेस्रो त्रैमासमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको भए पनि कृषि क्षेत्रको कमजोर विस्तारले अर्थतन्त्रलाई अपेक्षित गति दिन सकेन । तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घटेका कारण समग्र आर्थिक वृद्धि सामान्य रहेको जनाएको छ ।
यस अवधिमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र २४.८८ प्रतिशतको वृद्धिसहित सबैभन्दा तीव्र गतिमा विस्तार हुँदा वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार ५.२५ प्रतिशतले बढेका छन् । तर, सबैभन्दा ठूलो आर्थिक हिस्सा ओगटेको कृषि क्षेत्रको वृद्धि न्यून रहँदा समग्र अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
अर्थशास्त्रीहरूका अनुसार नेपालको आर्थिक संरचनामा कृषि क्षेत्रको योगदान अझै सबैभन्दा बढी रहेकाले यस क्षेत्रमा हुने सामान्य उतारचढावले पनि समग्र आर्थिक वृद्धिमा उल्लेखनीय प्रभाव पार्ने गर्छ । तेस्रो त्रैमासको तथ्याङ्कले ऊर्जा, वित्तीय सेवा र व्यापार क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनको स्थायित्व अझै चुनौतीकै रूपमा रहेको संकेत गरेको छ ।



