काठमाडौं । पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।
रूपन्देहीको मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र लागूऔषध खैरो हेरोइन करिब २०० ग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५) वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये १ जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए ।
घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



