काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, सूचना साक्षरता, गलत सूचना तथा दुष्प्रचार नियन्त्रण र सुरक्षित डिजिटल समाज निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ।

Nepal Telecome

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का प्रतिनिधिहरूसँग मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले डिजिटल क्षेत्रलाई सुरक्षित, व्यवस्थित र नागरिकमैत्री बनाउन दीर्घकालीन रणनीतिका साथ काम भइरहेको बताउनुभएको हो।

भेटमा नेपालका लागि युनेस्को प्रतिनिधि याको डु टोइ, संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयका शान्ति तथा विकास सल्लाहकार जेनीन फर्नान्डो, युनेस्को सञ्चार तथा सूचना क्षेत्र प्रमुख निर्जना शर्मा तथा यूएनडीपीका कार्यक्रम विश्लेषक टेक तामाता सहभागी हुनुहुन्थ्यो।

संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि, स्थानीय तहको क्षमता विकास, सूचना प्रवाह तथा नागरिकको सचेत सहभागिता बढाउने कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै यस्ता कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो।

भेटमा गलत सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सामग्रीको पहिचान, तथ्य जाँच गर्ने क्षमता विकास र नागरिकलाई विश्वसनीय सूचना छनोट गर्न सक्षम बनाउने विषयमा समेत छलफल भएको थियो। विद्यालय पाठ्यक्रममा डिजिटल साक्षरतालाई थप सुदृढ बनाउने, समुदायस्तरमा सूचना चेतना विस्तार गर्ने तथा सुरक्षित डिजिटल प्रयोगका लागि संस्थागत क्षमता विकासमा संयुक्त राष्ट्रसंघीय निकायले सहयोग गर्न सक्ने धारणा राखेका थिए।

मन्त्री तिमिल्सिनाले डिजिटल सुरक्षालाई सामान्य साक्षरता अभियानमा मात्र सीमित गर्न नहुने बताउँदै सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण, बालबालिका तथा महिलाको डिजिटल सुरक्षा र जोखिममा रहेका समुदायको संरक्षणमा विशेष जोड दिनुभएको थियो।

सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलिने क्रम बढिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि प्रभावकारी नीति, कानुनी व्यवस्था, संस्थागत क्षमता विकास र जिम्मेवार सूचना प्रवाह आवश्यक रहेको बताउनुभयो। नेपालले डिजिटल सुरक्षा अभिवृद्धिका लागि आफ्नै राष्ट्रिय क्षमता विकास गर्दै आवश्यक नीति तथा कानुन निर्माण गर्ने उहाँको भनाइ थियो।

सो अवसरमा संयुक्त राष्ट्रसंघीय साइबर अपराधसम्बन्धी महासन्धिको कार्यान्वयन, डिजिटल सुरक्षा चुनौती, राष्ट्रिय तथा स्थानीय तहमा क्षमता विकास, नीतिगत सुधार र संस्थागत सहकार्यका विषयमा पनि छलफल भएको थियो।

सूचना प्रवाह, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताउँदै मन्त्री तिमिल्सिनाले डिजिटल समाजलाई सुरक्षित, समावेशी र नागरिकमैत्री बनाउन अन्तर्राष्ट्रिय निकायसँग सहकार्य तथा साझेदारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।