काठमाडौं । नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ ।

बैंकले उपलब्ध गराएको विवरणअनुसार सन् २०२४÷२५ सम्म नबिल बैंकले कुल २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको हो । तथ्यांकले बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाएको छ ।

Nepal Telecome

सुरुआती वर्षहरूमा केही लाख रुपैयाँको हाराहारीमा रहेको आयकर पछिल्ला वर्षहरूमा अर्ब रुपैयाँको स्तरमा पुगेको छ । आर्थिक वर्ष २०२४÷२५ मा मात्रै बैंकले करिब २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर बुझाएको छ, जुन हालसम्मकै उच्च वार्षिक कर योगदान हो ।

नबिल बैंकले सरकारलाई सर्वाधिक कर बुझाउने बैंकिङ संस्थाका रूपमा पनि पटक–पटक सम्मान प्राप्त गरेको छ । आन्तरिक राजस्व विभागबाट बैंकले आठ आर्थिक वर्षमा ‘सर्वाधिक करदाता’ सम्मान प्राप्त गरेको रेकर्ड छ ।

बैंकले आर्थिक वर्ष २०१०÷११, २०१३÷१४, २०१४÷१५, २०१६÷१७, २०१८÷१९, २०१९÷२०, २०२०÷२१ र २०२२÷२३ का लागि सर्वाधिक करदाता पुरस्कार प्राप्त गरेको हो । बैंकका अनुसार नियमित रूपमा उच्च कर योगदान गर्नु संस्थागत सुशासन, दिगो नाफा तथा राष्ट्रिय अर्थतन्त्रप्रतिको उत्तरदायित्वको प्रतिबिम्ब हो । निजी क्षेत्रको बैंकिङ उद्योगमा नबिल बैंकले कर योगदानका हिसाबले अग्रणी स्थान कायम राख्दै आएको जनाएको छ ।