काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। ग्रुपले २०८३ मंसिर २ गतेदेखि लागू हुने गरी खड्कालाई उक्त जिम्मेवारी दिएको हो।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य र समन्वयको नेतृत्व गर्नेछन्। समूहका विभिन्न कम्पनीमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने उनको मुख्य जिम्मेवारी रहनेछ।

Nepal Telecome

त्यसैगरी, समूहको दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि, नयाँ सेवा तथा साझेदारीको विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा आईएमई समूहको योगदान विस्तार गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राख्नेछन्।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनले अनुभव हासिल गरेका छन्।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै उनको नेतृत्वले समूहअन्तर्गतका कम्पनीहरूलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले डिजिटल रूपान्तरणलाई विस्तार र प्रभावकारी बनाउँदै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने बताएका छन्।

नियुक्तिपछि खड्काले आईएमई ग्रुपका प्राथमिकता तथा सरोकारवालाहरूसँगको सहकार्यमा परिणाममुखी काम गर्न आफू केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा स्थापित आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी गर्दै आएको छ।