काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतामा निराशा बढ्दै गएको, युवादेखि व्यवसायी र विद्यार्थीसम्म भविष्यप्रति आशाविहीन बन्दै गएको दाबी गरे ।

Nepal Telecome

उनले भने, ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा निरास्यता छ । यो देशमा बाच्न सकिन् गर्न सकिँदैन यो भाष्य निर्माण यो संसदबाट कम्ती नगरै ।’

सिंहले देशको वर्तमान समस्या समाधानका लागि सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा बताए । उनले राज्य, जनता र लोकतन्त्र सुरक्षित रहेमा राजनीति निरन्तर चलिरहने बताए ।

‘आज सत्ता पक्षमा हुनेहरू भोलि प्रतिपक्षमा हुन सक्छन् । को आयो, को गयो भन्ने कुरा राजनीतिमा स्वाभाविक हो । तर राज्य, जनता र लोकतन्त्र नै संकटमा परे हामीमध्ये कोही पनि रहने छैनौं,’ उनले भने ।

यसै क्रममा उनले मंगलबार राति करिब २ बजे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा विवेक मण्डलको निधन भएको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले यही साताभित्र आत्मदाहका घटनामा ज्यान गुमाएका गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता दुःखद घटनाले राज्यलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताए ।

विवेक मण्डलको उपचारका लागि प्रधानमन्त्री, रास्वपा सभापति रवि लामिछाने, सभामुख तथा स्वास्थ्य मन्त्रीलगायतको पहल भए पनि उनलाई बचाउन नसकिएको उनले बताए ।