काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ । भेटवार्तामा पछिल्लो विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ ।
भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा विपद् व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको उल्लेख गर्दै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय आवश्यक रहेको धारणा राखे ।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले त्यसबारे पूर्वजानकारी नपाएको भन्दै मुख्यमन्त्री थापाले दुःख व्यक्त गरे । उनले तीन तहका सरकारमध्ये कसले कुन काम गर्ने भन्ने स्पष्ट रूपमा जिम्मेवारी विभाजन गर्न आवश्यक रहेको बताए ।
प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको जानकारी दिँदै थापाले पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा हुने र त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्याउन असहज भइरहेको बताए ।
जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भन्दै उनले खोला तथा नदी किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने महत्वपूर्ण भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा सबै तहका सरकारले आपसी समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा आफूहरू सचेत रहेको उल्लेख गरे ।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विपद्का बेला राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।



