गोरखा । जनयुद्धमा सहादत प्राप्त गरेका सहिद कोपिला कुमाल (दीपा) का पिता गोरेबहादुर कुमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा गोरखा क्षेत्र नम्बर २ का चुनावी कमान्डर हरिशरण आचार्यप्रति आक्रोश व्यक्त गर्दै लखेटेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने गोरखा आएका दिन गोरखा नगरपालिका–१२ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा सहिद परिवार र आचार्यबीच विवाद भएको बताइएको छ। स्थानीयका अनुसार घरदैलोको क्रममा सहिद परिवारले आचार्यप्रति आक्रोश व्यक्त गरेका थिए।

आचार्य तत्कालीन जनयुद्धका समयमा माओवादी आन्दोलनसँग जोडिएका नेता पनि हुन्। उनी पछि नयाँ शक्ति पार्टीमा आवद्ध भई डा. बाबुराम भट्टराई निकट रहेर २०७४ सालमा गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए भने मन्त्री पदको लाभसमेत लिइसकेका व्यक्ति हुन् । पछिल्लो समय भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन्।

Nepal Telecome

सहिद कोपिला कुमालका पिता गोरेबहादुर कुमालका अनुसार उनकी छोरीलाई तत्कालीन समयमा आचार्यसहितका नेताहरूले माओवादी आन्दोलनमा प्रवेश गराएका थिए। ‘उहाँहरूकै आग्रह र प्रेरणाले मेरी छोरी आन्दोलनमा सहभागी भएकी थिइन्’, गोरेबहादुरले भने।

तर पछिल्लो समय नेताहरूले बारम्बार पार्टी परिवर्तन गर्दै हिँडेकोप्रति उनले असन्तुष्टि जनाए। आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन सबै एकजुट हुनुपर्ने बेला नेताहरूले हरेक दिनजसो पार्टी फेर्ने गरेका छन्, गोरेबहादुले भने – अवसरवादी नेताहरुकै कारण जनयुद्धको उपलब्धीलाई ओझेलमा पारियो ।

यता रास्वपाका नेता हरिशरण आचार्यले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन्। उनले कुनै किसिमको दुर्व्यवहार वा लखेटिएको जस्तो अवस्था नभएको स्पष्ट पारे।

‘म आन्दोलनबाट उदाएको नेता हुँ, यो सबैलाई थाहा छ। पछिल्लो समय माओवादी पार्टीको अवस्था र रूपान्तरणका विषयमा शुभेच्छुकहरूले प्रश्न उठाउनु स्वाभाविक हो। सोही सन्दर्भमा सामान्य विवाद मात्र भएको हो, आचार्यले भने।