काठमाडौं । गायिका निर्मला घिमिरे ‘नीरु’को स्वरमा रहेको तीज गीत ‘माइतीघरको आँगन’ सार्वजनिक भएको छ । पत्रकार सुमन पण्डितको शब्द तथा संगीतमा रहेको गीत ‘माइतीघरको आँगन’मा रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ भने कुमार रानाको मिक्सिङ रहेको छ ।
बजारमा आइरहेका तीज गीतहरुको भीडमा आएको ‘माइतीघरको आँगन’ गीतमा बुढो घर कुरेर बसेकी बुढी आमाको कथालाई समावेश गरिएको छ । गीतको शब्दमा वर्ष दिनपछि माइतीको आँगन टेक्न नपाएको कथा, आमाको मुहार हेर्न नपाएको परिवेश, विवाहपछि छोरीका लागि विरानो भएको माइतीघर, घरबास छोडेर प्रवास गएकी चेलीको कथाभित्र छोरीले आमाको सम्झना गरेर गीत प्रस्तुत गरेको कारुणीक क्षण प्रस्तुत गरिएको छ । गीतमा आमाले छोरीहरूलाई जन्माएर पराइघर पठाएपछि दैलो कुरेरै जीवन बिताएको प्रसंग पनि मार्मिक रूपमा समेटिएको छ।
‘माइतीघरको आँगन’ को म्युजिक भिडियो कमल राईले निर्देशन गरेका हुन्। भिडियोको रङ्ग पौडेल निर्माता तथा गोपाल कटुवाल कार्यकारी निर्माता रहेका छन् भने अशेष अधिकारीको अडियो निर्माणमा विशेष भूमिका हरेको छ । शिव ढकालले छायांकन गरेको भिडियोको सम्पादन रामप्रसाद चौधरीले गरेका छन् भने रेनिश फागोले कलर गरेका छन्। भिडियोमा झरना रिसाल र दिप्सा कार्कीको नृत्य रहेको छ ।
‘माइतीघरको आँगन’ सार्वजनिक भएसँगै तीज गीतको भीडमा फरक भाव बोकेको गीतका रूपमा आएको छ। गीतले विशेषगरी आफ्नी आमा, माइती र बाल्यकाल सम्झिने छोरीहरूको भावनालाई छुने अपेक्षा गरिएको छ। गायिका निर्मला घिमिरे ‘नीरु’को स्वर रहेको गीत ‘माइतीघरको आँगन’लाई बोधी एचडी यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।



