काठमाडौं । गीतकार रमेश परियारलाई पपुलर गीतकार अफ दि इयरको अवार्ड मिलेको छ । राजधानीमा गत साउन १२ गते सम्पन्न भएको नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा उनले ‘भीरको खनियो’ दोहोरी गीतबाट अवार्ड चुम्न सफल भएका हुन् । पछिल्लो समयमा उनका दर्जनौं गीतहरु बजारमा मिलियन भ्यूज पाउन सफल भएका छन् । पछिल्लो समयका व्यस्त तथा महंगा गीतकारको रुपमा समेत उनी लोकदोहोरी क्षेत्रमा परिचित छन् ।

नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा सम्पन्न भएको उक्त अवार्डमा पूर्व सूचना तथा संचार मन्त्री एवं माननीय सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कोरोना भाइरसले पारेको प्रभावका कारण समयमा हुन नसकेको नेशनल क्यापिटल अवार्डले २०७९ साल असार १२ गतेलाई आफ्नो कार्यक्रमको डेट तय गरेको थियो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि वर्षभरिका गीत, संगीत, फिल्म, कल्चर र विभिन्न कलासँगका विधामा आधारि लिएर अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो । यस कार्यक्रममा सहभागी भएका गीतसंगीतबाट जुरीहरुले मूल्यांकन गरी उत्कृष्ट एक लाई मात्र पुरस्कृत गर्दै आइएको छ ।

Nepal Telecome

नेशनल क्यापिटल अवार्ड कार्यक्रममा एन्सर्ज गुरुङलगायत विभिन्न ४५ विधाका स्रष्टा र सिर्जनाले अवार्ड चुम्न सफल भएका थिए । गायिका दुर्गा खरेल, संगीतकार अर्जुन पोखरेल, गायक हरि गिरी विमर्शी, दोहोरी गायिका निर्मला थापा, कल्चरल गायिका कल्पना काफ्ले, संयुक्त गायनमा हरिमाया गुरुङ र सीता गुरुङ, आधुनिक संगीतकारमा मंगल वि.क, लाइभ दोहोरी गायिका रेजिना परियार, अभिनेत्री तथा मोडल एन्सर्ज गुरुङ, गीतकार निरोज भट्ट, पपुलर गायिका सुनितामी परियार, राष्ट्रिय भावको गीतकार पूजा मारिया, दशकको गीतकार प्रेम बराल, कल्चरल गायक शितल गुरुङ, गुरुङभाषाको मोडल पवित्रा गुरुङ र कोरियोग्राफर कमल बहादुर गुरुङ लगायतका ४५ जनाले अवार्ड चुमेका थिए ।

त्यस्तै कार्यक्रममा वरिष्ठ संगीतकार संगीतरत्न शम्भूजित बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । वरिष्ठ संगीत संयोजक तथा संगीतकार मनोहर सुनामलाई दशकको संगीत सम्मान प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई पत्रकारिता रजत सम्मान प्रदान गरिएको थियो भने पत्रकार एमपी सुब्बालाई राष्ट्रिय कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी लोकप्रिय गायक अमृत खाती र लोकप्रिय गायिका सिता केसीलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो । कार्यक्रम शुभकामना मिडिया सोलुशन र क्यापिटल इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको थियो ।