सुर्खेत । कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पु-याउन थालिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पु-याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान केन्द्रमा शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताईन् । हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

Nepal Telecome

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकोप्टरबाट ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्रमा २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी एक सय दुई जना कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरबाटै पठाईने बताए । डोल्पाको छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट, पुङ्गाबगर, मतदान स्थलमा पनि निर्वाचन सामाग्री र कर्मचारीका लागि हेलिकोप्टर प्रयोग गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग हुने भएको छ । निर्वाचनका लागि सामाग्री र कर्मचारी हेलिकोप्टरबाट पु-याए पनि मतदाताहरु भने आउन सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । गाउँका अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरु गरिएको छ ।

यसैबीच, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ । मतदातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ ।