काठमाडौँ । नेपालबाट धेरै टाढा संयुक्त राज्य अमेरिकामा रहेका गायक रुजन सिवाकोटीले जोस जाँगरसँग नेपाल बनाउनको लागि सही मान्छे छान्नु पर्ने कुरा आफ्नो नयाँ गीत ‘जोस जाँगर’बाट अनुरोध गरेका छन् । यो संघीय सरकारको लागि नेपालको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गरेको बेला जताततै राजनीतिक पार्टीहरुका चुनावी गीतहरू अहिले बज्ने गरेका छन् । तर यति बेला उनले पार्टी भन्दा देश माथि भन्ने कुरालाई मनन गदैै यो गीत ल्याएका हुन् ।
केहीवर्षदेखि अमेरिकामा बस्दै आएका रुजनले यस अघि पनि त्यहाँबाट विभिन्न गीतहरु आफ्नो स्वरमा ल्याईसकेका छन् । रुजनले यो गीत आफ्नै ‘रुजन सिवाकोटी’ अफिसियल च्यानलबाट शुक्रवार बेलुका सार्वजनिक गरेका छन् । डिपी खनालले लेखेको यो गीतलाई देवेन्द्र बरालले संगीत गरेका हुन । हाम्रो स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई मिक्सिङ, मास्टरिङ विषम आचार्यले गरेका हुन् ।
यसपटक उनले यो गीतमा भाषण गर्ने मात्र हैन हामीलाई काम गर्ने हात चाहिन्छ भनेर आम नेपालीलाई झकझक्याएका छन् । यो गीतमा रुजनले नेपालीको शक्ति दुनियाँलाई देखाउनु छ, यो काम फुटेर नहुने र जुटेर गर्नु पर्ने पनि आफ्नो स्वरमा भनेका छन् । विश्वको माझमा नेपाल अघि बढाउनु पर्ने कुरा गीतमा उल्लेख छ । यो राष्ट्रिय भावले ओतप्रोत गीत रहेको छ ।
गीतको भिडियोमा आफैँ गायकको रुपमा रुजन प्रस्तुत भएका छन् । स्थिर दृश्य प्रस्तुत गरिएको यो भिडियोमा राष्ट्रिय भाव र नेपाली जनजीवनका दृश्य तस्बिर प्रस्तुत गरिएको छ । भिडियोलाई रुजनसँगै अमिषा कटुवालले खिचेका हुन् । भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।
यो गीतको भिडियोमा थुप्रै कलाकारहरू प्रस्तुत छन् । जसमा गणेश पाण्डे,सविता पाण्डे, रमेश अधिकारी, ईश्वर अधिकारी, भुवन सिवाकोटी, रविना सिवाकोटी, कृष्ण कटुवाल, उमा कटुवाल, विक्रान्त झा, ममता झा, मोती भण्डारी, सुगन्ध श्रेष्ठ, रुपेश थापा, कविता थापा, शोभा श्रेष्ठ, पूजा पाण्डे, लक्ष्मी भुसाल, सुजता सिवाकोटी, मैयाँ बुढाथोकी, लक्ष्मी काकी, रेखा खड्का, तारा अधिकारी, धन सिवाकोटी, सुनिल बुढाथोकी, शंकर दाहाल छन् । बाल कलाकारमा कट्रिना न्यौपाने, सौरभ केसी, सायरा केसी, सरुजा केसी, आरुज सिवाकोटी, अर्जन सिवाकोटी छन् ।