हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मकवानपुर जिल्लामा मदिरा बिक्री–वितरणमा लगाइएको रोक कार्यान्वयनमा कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागुन १४ गते सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री तथा वितरण नगर्न निर्देशन दिएको थियो ।

निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति अनुगमनमा सक्रिय भएको छ । अनुगमनका क्रममा कुनै पनि पसल वा होटलले मदिरा बिक्री गर्न नपाउने तथा होटल–पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।

Nepal Telecome

अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गरेका थिए। टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनी हेटौँडाका प्रहरी उपरीक्षक नवीन खड्का तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रशासनले निर्णय उल्लङ्घन गर्दै मदिरा बिक्री गरेको वा तोकिएको समयपछि होटल–पसल सञ्चालन गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी दिएको छ । निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नियमको पूर्ण पालना गर्न व्यवसायी तथा सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।