काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले सोमबार पाँच वर्षे कार्यकाल पूरा गरी नियमित अवकाश लिएपछि देशको केन्द्रीय बैंकमा दुबै डेपुटी गभर्नर पद खाली भएका छन्। उनीहरू दुबैले २०७७ साल फागुन २५ मा पदभार ग्रहण गरेका थिए । नियमअनुसार उनीहरुको कार्यकाल यही फागुन २४ मा समाप्त भएको हो। अब उनीहरूको स्थान रिक्त भएपछि नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि प्रक्रिया सुरु हुन लागेको छ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको कारण यसपटक राष्ट्र बैंकमा डेपुटी गभर्नरको नियुक्ति विषयमा विगतको तुलनामा अपेक्षाकृत कम चर्चा देखिएको छ। अब बन्ने नयाँ सरकार गठनमा रहेको अन्योलसँगै यो विषय पनि अलमलमा परेको हो। ‘कसको सरकार बन्छ भन्ने निश्चित नभएर विगतजस्तो दौडधुप यसपटक देखिएको छैन,’ एक कार्यकारी निर्देशकले बताए।
नियमअनुसार राष्ट्र बैंकको गभर्नरले चार जना उम्मेदवारको नाम सिफारिस गरेर अर्थ मन्त्रालयमा पेश गर्नेछन् । त्यसमा मन्त्रीपरिषद्ले दुई जनालाई नियुक्त गर्ने व्यवस्था छ। डेपुटी गभर्नर बन्नका लागि उम्मेदवार पहिले नै राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको हुनुपर्छ। हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक सबै दाबेदार हुन सक्ने योग्यताका आधारमा सूचीमा छन्।
डेपुटी गभर्नरका लागि मुख्य दाबेदार मानिएका मौद्रिक तथा आर्थिक नीतिमा अनुभव भएका व्यक्ति डा. सत्येन्द्र तिमल्सिना, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल दाबेदारको सूचिमा देखिन्छन् ।
त्यसैगरी नियमन र सुपरीवेक्षणमा सक्रिय रहेका गभर्नरका विश्वासको पात्र रामु पौडेल पनि यस सूचिमा देखिएका छन् । बैंकिङ क्षेत्रको राम्रो अनुभव र गभर्नरसँग सन्तुलित सम्बन्ध बनाएका गुरुप्रसाद पौडेलको सम्भावित दाबेदार बन्ने सम्भावना पनि निकै देखिन्छ। वरिष्ठ कार्यकारी निर्देशकका रुपमा अनुभव बटुलेका र विशेषज्ञताको आधारमा पनि सम्भावना प्रवल देखिएका नरेश शाक्य र रेवती नेपाल पनि दाबेदारको लाइनमा देखिन्छन् । मौद्रिक नीति तथा बैंकिङ नियमनको विशेषज्ञ मानिएका रोशनकुमार सिग्देलको नाम पनि अगाडि देखिएको छ ।
त्यस्तै अन्य कार्यकारी निर्देशकहरू विश्रुत थापा, दयाराम शर्मा, किरण पण्डित, चेतप्रसाद उप्रेती, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा, र राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नरको सूचिमा रहेका छन् । तर नयाँ बन्ने सरकारको निकटतम को बन्न सक्छन् भन्ने पखाईमा यो पद रहेको छ ।