काठमाडौं । रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति राजधानीमा सम्पन्न ‘ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६’ को मुख्य उपाधि नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले जितेकी छन् । २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी खोटाङको दिक्तेलकी विनिताले पुरस्कारस्वरूप स्कुटर प्राप्त गरेकी छन् ।

Nepal Telecome

अधिवक्तासमेत रहेकी विनिताले मुख्य उपाधिसँगै ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ को उपउपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछिन् ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप घोषित भइन् । उनले रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस उपाधिसमेत प्राप्त गरिन् । त्यसैगरी ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप घोषित भइन् । सगुनले हर्लिक्स बेस्ट फिजिक उपाधि पनि जितिन् ।

प्रतियोगितामा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ घोषित भए । यी तीनै उपाधि विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले जानकारी दिइन् ।

अभिनेत्री निरुता सिंहको सम्मानमा उनले अभिनय तथा नृत्य गरेका चलचित्रका लोकप्रिय गीतमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई समेत मञ्चमा आमन्त्रण गरी नृत्यमा सहभागी गराएका थिए ।

भव्य समारोहबीच सम्पन्न प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो । सन्ध्या लामाले अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापाले निभिया फ्याबुलस फेस, अञ्जु परियारले मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जनले क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर, दीप्ति ढुंगेलले हेल्दी स्किन, क्रिस्टिना ज्ञवालीले बेस्ट र्‍याम्प वाक र ऋचा शर्माले दिनाज फेसन हाउस मोस्ट पङ्चुअल उपाधि प्राप्त गरे ।

त्यसैगरी समीक्षा रानाभाटले आयुथ वेदा बेस्ट स्माइल, श्वेच्छा पौड्यालले रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जनले सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन, सुष्मा थापाले केडी फोटोग्राफी मोस्ट फोटोजेनिक, बिन्दु थापा राणाले मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयदले मिसेस कन्जेनियालिटी र सुनिता श्रेष्ठ कर्माचार्यले मिसेस ह्युम्यानिटेरियन उपाधि जिते ।

प्रतियोगिताका विजेताहरूलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), महानायक राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

ह्वीसपर मुख्य प्रायोजक तथा अर्ना इनर्जी ड्रिंक र निभिया सहप्रायोजक रहेको प्रतियोगितामा महानायक राजेश हमाल, अभिनेत्री रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटोपार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डा. डेनिला कार्की निर्णायकका रूपमा रहेका थिए ।

अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सहकोरियोग्राफी रहेको प्रतियोगिता गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न भएको हो । गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध महिलाहरूको सहभागिताले यस वर्षको प्रतियोगितालाई थप विविधतापूर्ण बनाएको थियो ।

सेसेमी लिम्बु र सोफिया भुजेलले सञ्चालन गरेको कार्यक्रम अबेर रातिसम्म चलेको थियो ।

तस्बिर : बद्री थापा/कुबेर डंगोल