काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने २ लाख २२ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो ।
यसैगरी १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ । अब कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता शेयर छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।