काठमाडौं । लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको सिर्जनामा गायिका एलिना चौहानको नयाँ गीत ‘म बाँच्न पाउँदिन र ?’ भएको छ । रमेश सेन्चुरीको संगीत संयोजन तथा कुमार रानाको मिक्सिङ रहेको यस गीतको भिडियो कस्तुप पन्त अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा पछिल्लो समयको सामाजिक गतिविधिलाई प्रष्ट पार्न खोजिएको छ । समाज हार्दिक श्रद्धान्जली लेख्न हतार भएको र आफ्नो तरिकाले कसैलाई पनि बाँच्न नदिएको अवस्थामा झुठो आश्वसनको पछि नलाग्ने कुरालाई चित्रण गरिएको छ । गायिका एलिना चौहानको तत्कालिन गतिविधिमा समेत मेल खाने हिसाबले तयार भएको यो गीत रेकर्डिङको लामो समयपछि सार्वजनिक भएको छ । गायिका चौहानकै जीवनमा मेल खाने हिसाबले लेखिएको नठानियोस भनेर पछाडि बजारमा ल्याइएको गीतकार संगीतकार पन्तले बताए । उनले यो सबैसँग मेल खाने गीत हो कोहीप्रति लक्षित नभएको समेत पन्तले बताए ।
‘म बाँच्न पाउँदिन र ?’ गीतको भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । लोकप्रिय मोडलद्वय स्मारिका ढकाल र सुरेश कोल्हीको अभिनय रहेको यस गीतको छायाँकन मुस्ताङको रमणीय पर्यटकीय क्षेत्रमा गरिएको हो । करण चैंसिरको छायाँकन रहेको यस गीतको भिडियो सम्पादन विनोद बमले गरेका छन् ।