एजेन्सी । इन्टरनेटमाथिको चाँप घटाउनका लागि युट्युब, नेटफ्लिक्स, अमेजन र डिज्नेले युरोपेली देशहरुमा भिडियो सट्रिमिङ्गको गुणस्तर घटाउने निर्णय गरेको एक साता नबित्दै फेसबुकले पनि भिडियो क्वालिटी घटाउने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण लाखौँ मानिसहरु घरभित्रै रहेको र इन्टरनेटको खपत अभूतपूर्व रुपमा बढिरहँदा इन्टरनेट नै कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै युरोपेली युनियनले गरेको आग्रहलाई स्वीकार गर्दै फेसबुकले यस्तो कदम चालेको हो । जसअनुसार फेसबुकले अब युरोपेली मुलुकहरुमा फेसबुक र इन्स्टाग्राममा चल्ने भिडियोहरुको क्वालिटी घटाउनेछ ।
युरोपेली युनियनका उद्योग प्रमुख थियरी ब्रेटनले स्वास्थ्य सेवा तथा अनलाइनमा घरबाटै पढिरहेका विद्यार्थीहरुका लागि ब्याण्डविथ खुकुलो पारिदिन स्ट्रिमङ्ग प्लाटर्फमहरुलाई आग्रह गरेका थिए ।

Nepal Telecome

युरोपेली टेलिकम अपरेटरहरुले डाटा ट्राफिकमा भैरहेको वृद्धिलाई धान्न सक्ने क्षमता आफूहरुसँग भएता पनि धेरैभन्दा धेरै मानिसहरु घरबाटै इन्टरनेटमा काम गरिरहेको हुँदा नेटवर्कमा जाम हुने समस्या भने बढ्ने बताएका छन् ।

फेसबुक प्रवक्ताले भनेका छन्, ‘नेटवर्क जाम हुने जोखिमलाई हटाउनका लागि हामीले युरोपभित्र फेसबुक र इन्स्टाग्राम भिडियोको बिट रेट घटाउने छौँ ।’

फेसबुकका अनुसार युरोपमा इन्टरनेट कोल्याप्स हुने जोखिम नहटेसम्मका लागि भिडियोको क्वालिटी घटाउने कार्य जारी रहनेछ ।

स्मरण रहोस् नेटफ्लिक्स र युट्युबले स्ट्रिमिङ्ग भिडियोको क्वालिटीमा कटौती गर्ने निर्णय गरिसकेका छन् भने डिज्नेले युरोपमा आफ्नो समग्र ब्याण्डविथ उपयोगमा २५ प्रतिशतले कटौती गर्ने बताइसकेको छ । यसका लागि उसले आगामी हप्ता डिज्ने प्लस नामक नयाँ सर्भिस सुरु गर्दैछ ।

फिक्ड र मोबाइल नेटवर्कहरुमा कूल इन्टरनेट ट्राफिकको दुई तिहाई हिस्सा स्ट्रिमिङ भिडियोले ओगट्ने गरेको तथ्यांक छ । एजेन्सीको सहयोगमा