काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित नरही युवापुस्तामै तीव्र रूपमा बढ्दै गएको अर्थोपेडिक सर्जन डा.ऋषि बिष्टले बताएका छन् ।
अस्वस्थ्य जीवनशैली, जंकफुडको बढ्दो प्रयोग, शारीरिक निस्क्रियता, लामो समयसम्म टेबलवर्क, गलत पोस्चर र मोटोपनाका कारण युवा उमेरमै हड्डी, जोर्नी र मांसपेशीसम्बन्धी समस्या बढिरहेको उनले बताए ।
डा. विष्टका अनुसार हाडजोर्नी समस्यालाई मुख्य रूपमा दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो, चोटपटकबाट हुने समस्या र दोस्रो, विभिन्न रोग वा उमेरसँगै हड्डी तथा जोर्नी कमजोर हुँदै जाने समस्या ।
उनले नेपालमा पछिल्लो समय सडक दुर्घटनाको दर उल्लेखनीय रूपमा बढ्दै गएकाले त्यसबाट हुने फ्याक्चर, हड्डी भाँचिने, जोर्नीमा चोट लाग्ने तथा लिगामेन्ट च्यातिने समस्या धेरै देखिएको बताए ।
‘नेपालमा रोड ट्राफिक एक्सिडेन्टको बढ्दो दरका कारण कुनैपनि हड्डी फ्र्याक्चर हुने, भाँचिने समस्या धेरै देखिन्छ,’ उनले भने ।
यससँगै उमेर बढ्दै गएपछि देखिने समस्या पनि उत्तिकै गम्भीर बन्दै गएको उनले बताए । विशेषगरी ४५–५० वर्षपछि हड्डीको घनत्व कम हुँदै जाने, जसलाई ओस्टियोपोरोसिस भनिन्छ, र जोर्नी खिइँदै जाने समस्या, जसलाई ओस्टियोआर्थराइटिस भनिन्छ, अहिले धेरैमा यस्तै समस्या देखिन थालेको उनले जानकारी दिए । मेरुदण्डसम्बन्धी समस्या, स्पन्डाइलोसिस, घुँडाको जोर्नी खिइने समस्या पनि सामान्य बन्दै गएको उनको भनाइ छ।
डा. बिष्टले खानपानलाई हाडजोर्नी स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक भएको बताए । उनका अनुसार अहिलेको पुस्ता बढी जंकफुड, प्याकेजिङवाला खानेकुरा, तुरुन्त खान मिल्ने र पुनः तताएर खाने (रि–हिट) खानेकुरातर्फ आकर्षित भइरहेको छ । प्रिजर्भेटिभयुक्त खाद्य पदार्थको अत्यधिक प्रयोगले हाडजोर्नीको समग्र स्वास्थ्यमा नकारात्मक असर गरिरहेको उनले बताए ।
‘हामीलाई हाडजोर्नीका लागि आवश्यक पर्ने क्याल्सियम, भिटामिन डी, ओमेगा फ्याटी एसिड र एन्टिअक्सिडेन्टयुक्त खानेकुराको कमी भइरहेको छ । यसको सीधा असर हड्डी र मांसपेशीमा पर्छ,’ उनले भने ।
उनले अहिलेको जीवनशैलीलाई पनि हाडजोर्नी समस्या बढ्नुको प्रमुख कारण भएको बताए । पहिले मानिसहरू हिँडेर विद्यालय, कलेज वा कार्यालय जाने गर्थे भने अहिले सवारीसाधनमा पूर्ण निर्भरता बढेको उनले बताए ।
लामो समयसम्म कम्प्युटर वा टेबलमा बसेर काम गर्ने बानी, कम शारीरिक गतिविधि र ‘सेडेटरी लाइफस्टाइल’ ले घुँडा, कम्मर, मेरुदण्ड र वरपरका मांसपेशी कमजोर बनाइरहेको उनले बताए ।
‘हामी पहिले हिँड्थ्यौँ, अहिले बस्छौँ। शरीरलाई चलायमान राख्नुपर्ने ठाउँमा हामी निष्क्रिय भइरहेका छौँ। यसले घुँडा, कम्मर र मेरुदण्ड वरपरका मांसपेशीहरू कमजोर बनाउँछ,’ उनले स्पष्ट पारे।
युवापुस्तामा बढ्दो मोटोपनालाई पनि उनले गम्भीर चिन्ताको विषय बताए । उनले भने, ‘ओबेसिटी(मोटोपना) अहिलेको युवा पुस्तामा तीव्र रूपमा बढिरहेको छ । यो खानपानसँग पनि सम्बन्धित छ र निष्क्रिय जीवनशैलीसँग पनि। तौल बढ्दै जाँदा घुँडामा अत्यधिक दबाब पर्छ र हाडजोर्नी समस्या चाँडै सुरु हुन्छ ।’
शल्यक्रिया आवश्यक हुने वा नहुने विषयमा उनले केसअनुसार फरक हुने बताए । उनका अनुसार वयस्कहरूमा भएका अधिकांश फ्र्याक्चरहरू अप्रेसन वा बिना अप्रेसन दुवै तरिकाले उपचार गर्न सकिए पनि राम्रो परिणाम प्रायः शल्यक्रियाबाट आउने गर्दछ । तर बालबालिकामा धेरैजसो फ्र्याक्चरहरू अप्रेसनबिना पनि सफलतापूर्वक उपचार गर्न सकिन्छ ।
जोर्नी खिइने समस्यामा सुरुमा कन्जरभेटिभ उपचार अपनाइने उनले बताए। यसअन्तर्गत फिजिकल थेरापी, जीवनशैली परिवर्तन, तौल घटाउने, मांसपेशी बलियो बनाउने, नियमित व्यायाम तथा औषधिको प्रयोग गरिन्छ । यदि यी सबै उपायबाट पनि सुधार नआए र जाँचका आधारमा अवस्था गम्भीर देखिएमा जोर्नी प्रत्यारोपण (ज्वाइन्ट रिप्लेसमेन्ट) जस्ता शल्यक्रियातर्फ जानुपर्ने उनले बताए ।
खेलकुदका क्रममा हुने चोटपटकबारे बोल्दै उनले फ्र्याक्चर, मांसपेशीमा चोट, जोर्नी वरपरका लिगामेन्ट तथा मेनिस्कसमा समस्या बढी देखिने बताए । विशेषगरी खेलाडीहरूमा एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातिने समस्या धेरै देखिने उनले बताए ।
‘धेरैले सुन्नुभएको होला—‘घुँडाको एसीएल गयो’ भनेर । यदि एसीएल पूर्ण रूपमा च्यातिएको छ भने शल्यक्रियामार्फत यसको सफल उपचार गर्न सकिन्छ । त्यसपछि उचित फिजिकल थेरापी र रिह्याबिलिटेसनमार्फत फेरि खेलमै फर्काउन सकिन्छ,’ उनले भने ।
डा. बिष्टले नेपालमा अर्थोपेडिक्स सेवा अन्तर्राष्ट्रिय स्तरको रहेको दाबी गरे। उनका अनुसार अनुसन्धान (रिसर्च) को क्षेत्रमा नेपाल केही पछाडि भएपनि दैनिक देखिने हाडजोर्नी समस्याको उपचारमा नेपाल धेरै पछाडि छैन ।
‘अमेरिकामा जस्तो उपचार हुन्छ, हामी यहाँ पनि त्यही प्रकारले उपचार गर्न सक्षम छौँ। हामीसँग दक्ष जनशक्ति छ, विशेषज्ञ चिकित्सक छन् र आवश्यक उपकरणहरू पनि छन्,’ उनले बताए।
हाडजोर्नी स्वस्थ राख्न उनले सर्वप्रथम अल्कोहल, धूम्रपान र अत्यधिक चिनी भएका पेय पदार्थहरूबाट टाढा रहन सुझाव दिए । विशेषगरी कोक, फ्यान्टा, स्प्राइटजस्ता सुगरी ड्रिंक्सले हड्डीको स्वास्थ्यमा नकारात्मक असर पार्ने उनले बताए।
त्यसको सट्टा क्याल्सियम, भिटामिन डी, ओमेगा फ्याटी एसिड र एन्टिअक्सिडेन्टयुक्त खानेकुरामा ध्यान दिनुपर्ने उनले बताए । दूध तथा दुग्धजन्य पदार्थ क्याल्सियमका राम्रो स्रोत हुन् भने अण्डा, माछा र सूर्यको किरणबाट भिटामिन डी प्राप्त गर्न सकिने उनले बताए ।
ओमेगा फ्याटी एसिडका लागि माछा उत्कृष्ट स्रोत भएको र शाकाहारीका लागि चिया सिड्स, ओखर (वालनट्स) उपयोगी हुने उनले बताए । त्यस्तै फलफूलहरू एन्टिअक्सिडेन्टका राम्रो स्रोत भएको उनले जानकारी दिए ।
दैनिक जीवनशैली सुधारका लागि उनले एउटा सरल सुझाव पनि दिए । ‘हरेक ३० देखि ४५ मिनेटमा आफू बसेको ठाउँबाट उठ्नुपर्छ । एकदुई मिनेट हिँड्ने, शरीर स्ट्रेच गर्ने वा केही कदम चाल्ने बानीले धेरै फाइदा हुन्छ,’ उनले भने ।
त्यसैगरी कम्प्युटर वा ल्यापटपमा काम गर्दा सही पोस्चरमा बस्नुपर्ने उनले बताए । धेरै निहुरेर काम गर्नु, घाँटी धेरै माथि उठाएर स्क्रिन हेर्नु वा गलत उचाइको कुर्सी प्रयोग गर्नु ‘ब्याड पोस्चर’ भएको उनले बताए । ‘ल्यापटप वा कम्प्युटर आई लेभलमा हुनुपर्छ,’ उनले सुझाव दिए ।
ओस्टियोपोरोसिसबारे बोल्दै उनले यो उमेरसँगै हड्डीको घनत्व कम हुँदै जाने अवस्था भएको स्पष्ट पारे । यसलाई ओस्टियोआर्थराइटिससँग भ्रममा पार्न नहुने उनले बताए। ओस्टियोपोरोसिस हड्डी कमजोर हुने अवस्था हो भने ओस्टियोआर्थराइटिस जोर्नी खिइने अवस्था हो ।
यसबाट जोगिन पर्याप्त क्याल्सियम, भिटामिन डी, सक्रिय जीवनशैली र रेसिस्टेन्स एक्सरसाइज आवश्यक रहेको उनले बताए।
‘साधारण एकदुई किलो तौल उठाउने अभ्यास पनि उपयोगी हुन्छ । यसले मांसपेशी बलियो बनाउँछ र हड्डीको घनत्व जोगाउन मद्दत गर्छ,’ उनले भने ।
डा. बिष्टले अरिन अस्पतालमा हाडजोर्नीसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको जानकारी दिए । फ्र्याक्चरदेखि मेरुदण्ड, घुँडाका लिगामेन्ट, जोर्नी खिइने समस्या तथा जोर्नी प्रत्यारोपणसम्मका उपचार आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत भइरहेको उनले बताए ।
‘हामीसँग दक्ष विशेषज्ञ जनशक्ति, आधुनिक उपकरण र नवीनतम प्रविधि उपलब्ध छन् । हाडजोर्नीसम्बन्धी सम्पूर्ण उपचारलाई हामी पूर्ण प्याकेजका रूपमा सेवा दिइरहेका छौँ,’ उनले बताए।
हाडजोर्नीसम्बन्धी समस्या अब वृद्धवृद्धामा मात्र सीमित नरही युवापुस्तामै गम्भीर रूपमा देखिन थालेको छ । अस्वस्थ खानपान, जंक फुडको बढ्दो प्रयोग, निष्क्रिय जीवनशैली, गलत पोस्चर, मोटोपना र शारीरिक गतिविधिको कमी यसको मुख्य कारण बनेका छन् । समयमै सचेत भई सन्तुलित आहार, नियमित व्यायाम, सक्रिय जीवनशैली र सही स्वास्थ्य बानी अपनाउन सके हाडजोर्नीसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ । आधुनिक उपचार प्रविधि उपलब्ध भएपनि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टको भनाइ छ ।
