पाँचौं ग्रामीण चलचित्र महोत्सवमा ओम प्रतीकद्वारा निर्देशित चलचित्र मोहर उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । उक्त महोत्समा अभिनेता नाजिर हुसेन र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए । अभिनेता नाजीर हुसेन चलचित्र गुन्युचोलोबाट अवार्ड चुम्न सफल भएका हुन् भने अभिनेत्री सुरक्षा पन्त कोशेढुंगाबाट अवार्ड चुम्न सफल भएकी हुन् ।
कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहितको झाँकी प्रस्तुत गरिएको थियो । मधेश प्रदेशको कथा र पर्यटनलाई मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रम पनि आयोजना गरिएका थिए ।
पाँचौ संस्करणको ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको महोत्सवमा १७ फिल्म प्रदर्शन गरिएको थियो ।
आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै सर्लाहीमा महोत्सव आयोजना गर्नुले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा ठूलो योगदान पुगेको बताए ।
चन्द्रनगर गाउँपालिकाको नाढीतालमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कलाकार तथा स्रष्टालाई पुरस्कार वितरण गर्नुको साथै नाढ़ीमन तालको बिषयमा लेखिएको पुस्तक बिमोचन समेत गरिएको थियो ।
महोत्सवमा मोहन चलचित्रबाट ओम प्रतीक गुरुङ उत्कृष्ट निर्देशक बन्न सफल भए । चलचित्र गुन्यूचोलोबाट समुन्द्र भट्ट र नाजिर हुसेनले उत्कृष्ट पटकथाको अवार्ड चुम्न सफल भए । त्यस्तै
उत्कृष्ट आदिवासी चलचित्र नाक्छोङ बन्न सफल भयो भने उत्कृष्ट छोटो चलचित्र नीलो आकाश बन्न सफल भयो ।
त्यसैगरी निर्देशक मिलन तामाङले माइतीघर चलचित्रबाट जुरी अवार्ड चुम्न सफल भए भने कोशेढुंगा चलचित्रबाट उत्कृष्ट सम्पादक नहकुल खड्का, उत्कृष्ट छायाँकार बाबु श्रेष्ठ र प्रोत्साहन अवार्ड मन्जिलकुमारले चुम्न सफल भए ।
