काठमाडौं । नेपालको जलवायु–प्रविधि क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाली युवाहरूले विकास गरेको एआई–आधारित वातावरणीय सूचना प्लेटफर्म ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।
संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले दिगो विकास लक्ष्य (एसडिजी) का लागि तयार पारेको प्रतिष्ठित ‘एसटिआई सोलुसन बुक २०२६’ मा वायुदृष्टिलाई समावेश गरिएको हो । विश्वभरबाट आएका ९०० भन्दा बढी डिजिटल तथा प्रविधिमा आधारित आवेदनहरूमध्ये कडा प्राविधिक परीक्षण र मूल्यांकन प्रक्रिया पार गर्दै वायुदृष्टि उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो ।
नेपालको बोट्स इन्डस्ट्रिज प्रालिद्वारा विकास गरिएको वायुदृष्टिले वायु प्रदूषणलाई सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने बनाउने उद्देश्य राखेको छ । कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रह डाटा, जमिनमा आधारित सेन्सर तथा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता विश्लेषणको प्रयोगमार्फत यसले वास्तविक समयमै वायु गुणस्तरसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।
वायुदृष्टिका संस्थापक सक्रिय पाण्डे तथा सहसंस्थापक श्रीषा पाण्डेले यो उपलब्धिलाई केवल कम्पनीको सफलता नभई समग्र नेपालको गौरवको विषय भएको बताएका छन् ।
सहसंस्थापक श्रीषा पाण्डेले भनिन्, ‘वायुदृष्टि एउटा साधारण सोचबाट सुरु भएको यात्रा हो, जसको उद्देश्य अदृश्य वायु प्रदूषणलाई देखिने र मापनयोग्य बनाउनु थियो । संयुक्त राष्ट्रसंघबाट प्राप्त यो मान्यताले नेपाली युवाहरूले पनि विश्वस्तरका प्रविधि निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ । यसले हामीलाई अझ ठूलो जिम्मेवारी र ऊर्जा दिएको छ ।’
उनले नेपालका युवाहरूमा नवीन सोच र विश्वस्तरीय समाधान निर्माण गर्ने क्षमता रहेको उल्लेख गर्दै आगामी दिनमा वातावरणीय डाटा सबैको पहुँचमा पु¥याउने अभियानलाई अझ विस्तार गर्ने बताइन् ।
श्रीषा आगामी जुन ११ र १२ मा अमेरिकाको वाशिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा आयोजना हुने प्रतिष्ठित ‘वल्ड बैंक ग्रुप युथ समिट २०२६’ मा नेपालका तर्फबाट सहभागी हुँदैछिन् । सम्मेलनमा उनले नेपालका युवाहरूको नवप्रवर्तन, डिजिटल अवसर र दिगो विकाससम्बन्धी मुद्दालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ ।
विश्व बैंक समूहद्वारा आयोजित यो सम्मेलन १७० भन्दा बढी देशका युवाहरूलाई जोड्ने विश्वकै ठूलो युवा प्लेटफर्ममध्ये एक मानिन्छ । वायुदृष्टिको यो अन्तर्राष्ट्रिय सफलताले नेपालजस्ता विकासोन्मुख देशबाट पनि विश्वस्तरीय प्रविधि र समाधान विकास हुन सक्ने सम्भावनालाई थप उजागर गरेको छ ।
वायु प्रदूषण, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यका चुनौती तीव्र बन्दै गएको वर्तमान अवस्थामा वायुदृष्टिले समुदाय, सरकार, विद्यालय, अनुसन्धानकर्ता तथा उद्योगहरूलाई सहज र भरपर्दो वातावरणीय जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ । टोलीले आगामी दिनमा नेपालभित्र र बाहिर वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै स्वच्छ हावा, स्वस्थ समुदाय र दिगो भविष्य निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता समेत जनाएको छ ।



