*काठमाडौं, असार २२।* सिद्धार्थ बैंकको कथित किर्तेधन्दा तथा अनियमित गतिविधिबाट आफूहरू पीडित भएको दाबी गर्दै पीडितहरूको समूहले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै पीडितहरूले बैंकका केही कर्मचारी तथा जिम्मेवार अधिकारीहरूको मिलेमतोमा किर्ते कागजात तयार गरिएको, आर्थिक तथा कानुनी रूपमा आफूहरूलाई ठूलो क्षति पुगेको र लामो समयदेखि न्यायका लागि विभिन्न निकायमा धाइरहे पनि सुनुवाइ नभएको आरोप लगाए।
उनीहरूले सम्बन्धित निकायमार्फत घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
पत्रकार सम्मेलनमा पीडितहरूले विभिन्न कागजात सार्वजनिक गर्दै आफ्नो दाबीको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरे। उनीहरूले आर्थिक अपराध तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विषय भएकाले नियामक निकाय र अनुसन्धान गर्ने निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए।
पीडित पक्षले आफ्नो माग पूरा नभएसम्म कानुनी तथा शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएको छ।
यस विषयमा सिद्धार्थ बैंकको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। बैंकको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समेटेर समाचार अद्यावधिक गरिनेछ।



