फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलबाट बाहिरिए पनि नर्वे राष्ट्रिय फुटबल टोलीलाई स्वदेश फर्किँदा ओस्लोमा भव्य स्वागत गरिएको छ।

रोयटर्सका अनुसार, सोमबार टोली स्वदेश फर्किँदा राजधानी ओस्लोका सडकमा एक लाखभन्दा बढी समर्थक उपस्थित भएर खेलाडीहरूको स्वागत गरेका थिए।

Nepal Telecome

क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै नर्वेको विश्वकप यात्रा टुंगिएको थियो। उपाधि जित्न नसके पनि टोलीले प्रतियोगिताभर गरेको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप स्वदेशमा नायकसरह स्वागत पाएको हो।

टोलीलाई विमानस्थलमा परम्परागत ‘वाटर क्यानन सलामी’ दिइएको थियो। त्यसपछि खुला बसमार्फत राजधानी ओस्लोमा विजय परेड निकालिएको थियो। शाही दरबार आसपास र कार्ल योहान्स गेट क्षेत्रमा हजारौं समर्थक भेला भएर टोलीलाई स्वागत गरेका थिए।

खेलाडीहरूले राजा ह्याराल्डसँग भेट गरेपछि दरबारको भर्‍याङबाट समर्थकहरूलाई अभिवादन गरेका थिए। युवराज हाकोनले टोलीको परम्परागत नाराको नेतृत्व गरेका थिए।

स्टार स्ट्राइकर एर्लिङ हालान्ड र मिडफिल्डर सान्देर बेर्गे भने अर्को उडान समात्नुपर्ने भएकाले स्वागत कार्यक्रममा सहभागी हुन सकेनन्। मुख्य प्रशिक्षक स्टाले सोलबाकेनका अनुसार अमेरिकाबाट फर्किने टोलीको उडान ढिलो भएकाले उनीहरू तत्काल प्रस्थान गर्न बाध्य भएका थिए।

टोलीका कप्तान मार्टिन ओडेगार्डले विश्वकपभर समर्थकहरूले दिएको अभूतपूर्व साथप्रति आभार व्यक्त गरेका छन्।

विशाल भीडका कारण खुला बस परेड केही समय ढिलो भएको थियो। केही स्थानमा प्रहरीले बाटो खाली गराएपछि मात्र यात्रा अघि बढाइएको थियो। सिटी हल स्क्वायरमा पुगेपछि दशौं हजार समर्थकले नर्वेको ऐतिहासिक विश्वकप यात्राको सम्मानमा उत्सव मनाएका थिए।