काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

Nepal Telecome

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । टोलीका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । यस्तै थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रनको योगदान गरे ।

एक समय ८ रनमै ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमै क्रिजमा पुगेका उनले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए ।

जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन् ।

दीपेन्द्रले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बलमा १ चौकाको मद्दतमा १६ रन बनाए । यस्तै, दीपेन्द्रले छैटौँ विकेटका लागि थरिन्दु रत्नायकेसँग पनि ५४ रनको साझेदारी गरे । थरिन्दुले २३ बलमा ३ चौकासहित अविजित २६ रन जोडे ।

काठमान्डु गोर्खाजका लागि बलिङमा जहानदाद खानले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन दिँदै २ विकेट हात पारे ।

सन्तोषले खेलको दोस्रो ओभरमै सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई खाता खोल्न नदिई पेभेलियन फर्काएका थिए ।

अब १२६ रनको लक्ष्य पछ्याउने क्रममा काठमान्डु गोर्खाजमाथि सुदूरपश्चिमले कस्तो चुनौती प्रस्तुत गर्नेछ भन्ने हेर्न बाँकी छ ।