काठमाडौं । नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप (ENCG) फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा सहभागिता जनाएर स्वदेश फर्किएको छ।
संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा नेपालको प्रतिनिधित्व गर्दै मौलिक सांस्कृतिक प्रस्तुति दिएको हो।
टोलीमा बागमती बोर्डिङ उच्च माध्यमिक विद्यालय, सुकेधाराका प्राध्यापक श्याम दत्त अधिकारीको संयोजनमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रतिनिधिमण्डलमा एभरेष्ट नेपाल कल्चरल ग्रुपकी सदस्य तथा लालिगुराँस नेसनल एकेडेमीकी उपप्रधानाध्यापक सुजिता काफ्ले उदास, प्राध्यापक श्याम दत्त अधिकारी तथा विद्यार्थीहरू सुरभि अर्याल, कसिश भट्टराई, सदिच्छा महत, आहना कार्की, श्रुतिरानी गिरि, शुभाञ्जली सापकोटा, शुभम सम्राट घले, आध्या अधिकारी, आर्नबी गौतम, सम्पदा ओली, आयुष मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटी सहभागी थिए।
मेलामा टोलीले नेपालको मौलिक संस्कृति झल्काउने मारुनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरेको थियो। नृत्यहरूको निर्देशन सपना महर्जनले गरेकी थिइन्।
फ्रान्स भ्रमणको सम्पूर्ण व्यवस्थापन एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्यले संयोजन गरेकी थिइन्। मेला अवधिभर सहभागी विद्यार्थीहरूले विभिन्न विद्यालयको अवलोकन गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानसमेत गरेका थिए।
यस अवसरमा प्राध्यापक श्याम दत्त अधिकारीले भविष्यमा नेपाल र फ्रान्सका विद्यालयबीच यस्ता शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानका कार्यक्रमलाई अझ विस्तार गर्ने पहल गरिने बताए।
त्यसैगरी, टोलीका प्रमुख डा. आरसी कोइरालाले स्थानीय नगर प्रमुख, आयोजक तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गर्दै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल गरेका थिए। साथै, सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको जनाइएको छ।



