काठमाडौं । वरिष्ठ चलचित्रकर्मी निर शाहको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्माण हुने भएको छ। शुक्रबार पहिलो गीतको रेकर्डिङ सम्पन्न भएसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
रेड चिल्ली फिन टेक प्रालिको प्रस्तुतिमा बन्ने यस चलचित्रको पहिलो गीतका शब्द निर्देशक निर शाह स्वयंले लेखेका हुन्। गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको छ भने लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन्।
चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। पटकथा तथा संवाद लेखनको जिम्मेवारी भने शिवम अधिकारीले सम्हालेका छन्। चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।
निर्माण टिमका अनुसार हाल चलचित्रको पूर्व–निर्माण (Pre-production) अन्तिम चरणमा पुगेको छ र छायांकनको तयारी तीव्र रूपमा भइरहेको छ। चलचित्रका मुख्य कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने बताइएको छ।
निर्देशक निर शाहले फरक कथावस्तु र नयाँ प्रस्तुतिशैलीका साथ ‘प्रिन्स’लाई दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन्। चलचित्रले समकालीन नेपाली समाज र युवापुस्तासँग जोडिएको सशक्त कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण पक्षको भनाइ छ।



