काठमाडौं । यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’को नयाँ भावनात्मक गीत ‘कहाँबाट ल्याउ बाबा पीडाभुल्ने मुटु’ सार्वजनिक गरिएको छ।
विपत्तिको समयमा सन्तानले आफ्ना बुवाप्रति व्यक्त गर्ने माया, पीडा र सम्झनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। गीतका शब्द अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारले दिएका छन्।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हली’ले देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा इमानदार ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सामाजिक तथा क्रान्तिकारी सन्देश बोकेको निर्माण पक्षले जनाएको छ।
पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माता रहेको चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको अभिनय रहेको छ।
यसअघि सार्वजनिक गरिएको चर्चित अभिनेत्रीहरू फिचर्ड प्रमोसनल गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमको दाबी छ। सोही सफलतालाई निरन्तरता दिँदै नयाँ गीतले पनि दर्शकको मन छुने विश्वास गरिएको छ।
जापुरा फिल्मस् र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन राहुल राईले गरेका हुन्। निर्माण टिमले चलचित्रले सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।



