काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद्का नवनियुक्त सदस्यहरूलाई बुधबार मनोनयन पत्रसमेत हस्तान्तरण गरिएको हो।

कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रका साझा आवाजलाई सशक्त बनाउन परिषद्ले नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन तथा निर्यात विस्तार र उद्योग–व्यवसायका समस्या समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। उनले निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वयमार्फत आर्थिक विकासमा परिषद्को महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।

Nepal Telecome

जिल्ला–नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले परिषद् महासंघको महत्त्वपूर्ण अंग भएको उल्लेख गर्दै क्षेत्रगत समस्याको समाधानमा यसको भूमिका प्रभावकारी हुने बताए।

वस्तुगत उपाध्यक्ष तथा परिषद्का सभापति नरेशलाल श्रेष्ठले वस्तुगत सदस्य संघहरू निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै तथ्याङ्कमा आधारित अनुसन्धान र साझा एजेन्डामार्फत निजी क्षेत्रको हित संरक्षणमा सक्रिय हुन सदस्यहरूलाई आग्रह गरे।

बैठकले परिषद्को उपसभापतिमा भक्तबहादुर हमाललाई मनोनयन गरेको छ। महासंघमा हाल १४२ वटा वस्तुगत सदस्य संस्था आबद्ध छन्।