जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहविरुद्ध धनुषा अदालतमा मुद्दा दर्ता भएको छ । गत पुस २२ गते नगरप्रमुख साहकै कार्यकक्षमा पत्रकारहरुलाई कुटपिट गरेको विषयलाई लिएर ३ जना पत्रकारले संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् ।

Nepal Telecome

कान्तिपुर टिभीका सम्वाददाता समेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीकै अमरकान्त ठाकुर र एपी वन टिभीका विकास साहले संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहविरुद्ध धनुषा जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

जनकपुरधाम नगरको विकासमा भ्रष्टाचार मौलाएको, विकास निर्माण कार्य अपारदर्शीरुपमा भइरहेको, जानकी मन्दिरको फुलवारी भित्ता अतिक्रमण गर्नमा प्रमुख साहले ८५ लाख रुपैयाँ घुस लिएको भन्ने आरोप केहि वडा अध्यक्षहरुले नै लगाएका थिए । सोही सन्दर्भमा नगर प्रमुख साहसँग उनको प्रतिक्रिया लिन पत्रकारहरु पुगेका थिए ।

तर आधा दर्जन पत्रकारहरुलाई नगरप्रमुख साहले आफ्नै कार्यकक्षमा गाली बेइज्जती र दुव्यर्वहारसहित कुटपिट गरेका थिए । नगर प्रमुख साहविरुद्ध लागेको मुद्दामा दोषी साबित भए उनलाई २ वर्षको जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको अधिवक्ता राजकुमार महासेठले बताए ।