जनकपुर । मैथिली साहित्य क्षेत्रका थप एक दिग्गजको स्वर्गवास भएको छ । मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको हो ।
उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो ।
डा. लालले मैथिली साहित्यमा लामो समयदेखि योगदान पु¥याउँदै आएका थिए । साहित्यका विभिन्न विधामा कलम चलाएका डा. लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त तथा लोक साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।
उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो । उनका चर्चित मैथिली कृतिहरूमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन् ।
त्यस्तै, ‘धनुषाधाम और मणिमण्डप’ उनको पर्यटनसम्बन्धी कृति हो । उनी मैथिली त्रैमासिक पत्रिका ‘नैमिकानन’ का सम्पादकसमेत रहेका थिए । उनका विभिन्न रचनाहरू विद्यालय तथा महाविद्यालयका पाठ्यक्रममा समेत समावेश भएका छन् ।
साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप उनले वैदेही प्रतिभा पुरस्कार, त्रिमूर्ति पुरस्कार, मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान तथा नेपाल सरकारको प्रादेशिक प्रतिभा पुरस्कारलगायतका सम्मान प्राप्त गरेका थिए ।
डा. लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी र समर्पित स्रष्टा गुमाएको छ ।
साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा। लाल विविधा मैथिली मञ्चका संस्थापक सचिव, मैथिली साहित्य परिषद्का सदस्य तथा मैथिली साहित्यकार सभाका सल्लाहकारका रूपमा आबद्ध थिए ।



