" />
काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चर्कदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएका छन् । गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा सुनसरीको इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेला भएको छ । सो भेलाले अबको लडाई वारपार गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
इटहरीको एक होटलमा मोरङ जिल्लाभरका प्रदेश कमिटि सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भएको भेलाले अध्यक्ष ओली असहिष्णु भएको र जहिले हेपाहा व्यवहार गर्ने भएकाले गर्दा अब मिलेर जान नसक्ने निचोड निकालिएको सहभागी एक नेताले बताए । उनका अनुसार भेलाले ओली पक्षलाई कित्ताकाट गरेर अघि बढ्नुपर्ने र कुनै पनि हालतमा मिलेर जान नसकिने निष्कर्ष निकालिएको थियो ।
ओलीबिरुद्ध पूर्व एमालेका नेता आक्रमक ढंगले प्रस्तुत भएका थिए । पूर्व माओवादीका नेताले भने मिल्न सकिन्छ भने मिलाएरै लान बैठकमा सुल्झाएका थिए । हामीले त मिल्न सकिने सम्म मिलाएर जाउँ भनेर भन्यौं तर पूर्व एमालेका त पुरै आक्रमक भएर प्रस्तुत हुँदै मिल्नै नसक्ने निष्कर्ष निकाले,’ सहभागी पूर्व माओवादी पक्षीय एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश कमिटी सदस्य बसेर भेला भएपनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’
भेलाले मोरङ जिल्लाभर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षीयभन्दा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेता–कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो । भेलाले अब १३ गतेपछि प्रदेश नं १ का मन्त्री, सभासद र स्थानीय तहका प्रतिनिधिको गुट भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ । भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी अछामे, पूर्व मन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटी सदस्य गरि ५० जना हाराहारीको सहभागिता रहेको थियो ।