News Of Global बिहिबार, पौष १६, २०७७

काठमाडौं । लोकदोहोरी भन्ने वित्तिकै हेलाँ गर्ने प्रवृत्ति थियो कुनैबेला । तर अहिले लोकदोहोरीमा खेल्नै हिजो नाक खुम्च्याउनेहरुको भीड छ । बिडम्बना फिल्मी क्षेत्रका कलाकारहरु अहिले लोकदोहोरीमा काम गर्न निकै उत्साहित हुन्छन् । केही वर्षअघिसम्म चलचित्रमा काम गर्नेहरुले लोकदोहोरी भनेपछि निकै हेप्थे । तर आजभोलि उनीहरुको छाक टार्ने जोहो मात्र होइन स्टारडम बनाउने काम लोकदोहोरीले गरिरहेको छ ।

चलचित्रका गीतमा पनि लोकगीत पर्यावाची जस्तै बन्यो । दीपकराज गिरी, अनमोल केसी, निखिल उप्रेती, पल शाह जस्ता कलाकारले अभिनय गरेको चलचित्रमा पनि लोकगीत पर्यावाची बनेको छ । यसैले पनि चलचित्रका कलाकारहरुमा लोकगीतप्रतिको मोह बढेको पाइन्छ ।

अझ, लकडाउनपछि त चलचित्रको काम नै ठप्प हुँदा कामविहिन भएका धेरै चलचित्रका अनुहारहरुका लागि लोकगीतको भिडियो आम्दानीको मुख्य श्रोत बनेको छ । यसैले त होला, नायक राजेश हमाल, पल शाह, दिलिप रायमाझी, पुष्प खड्कादेखि केकी अधिकारी, वर्षा सिवाकोटी जस्ता चलचित्रका कलाकारले लोकगीतमा निर्धक्क काम गरिरहेका छन् ।

लकडाउनयता लोकदोहोरी गीतको निर्माण कमी आएपनि निर्देशक, कलाकार, प्राविधिकको व्यस्तता भने लोभलाग्दो छ । तर, चलचित्रका कलाकारले अभिनय गर्दा लोकगीतको बजेट पनि पहिलेको तुलनामा डबल भएको पाइन्छ ।

लोकदोहोरी गीतको भिडियोमा निर्माणमा व्यस्त रहेका निर्देशक काजिश श्रेष्ठ भन्छन्–‘फिल्ममा राम्रो क्रेज बनाएका कलाकारहरुले अहिले निरन्तर लोकदोहोरी भिडियोमा काम गरिरहेका छन् । उनीहरु लोकदोहारी प्रेमी बनेका छन् ।’ काजिशको जस्तै तर्क अर्का सफल भिडियो निर्देशक प्रकाश भट्टको पनि छ । उनले, चलचित्रका कलाकारको आकर्षण लोकदोहोरी भिडियोमा बढेको बताए ।

महंगो पारिश्रमिक मुख्य कारण
लोकदोहोरी गीतमा चलचित्रका कलाकारको आकर्षण बढ्नुको पछाडि केही कारण छन् । जसमा पहिलो कारण त पारिश्रमिक नै हो । चलचित्रमा काम नभएको समयमा कलाकारहरुले मागेकै पारिश्रमिक पाउने भएपछि दोहोरीमा काम गरेका हुन् । भिडियो निर्देशक प्रकाश भट्टले गीतसंगीतलाई चलचित्र, आधुनिक, लोकदोहोरी भनेर बर्गीकरण गर्नु नै गलत भएको बताए । हरेक गीतमा लोकभाका नै प्रयोग हुने भएकाले पनि सबै गीतसंगीतलाई एउटै दृष्टिकोणले हेर्नुपर्ने तर्क प्रकाशको छ ।

यस्तै, निर्देशक काजिश श्रेष्ठ लोकगीतको भिडियोमा चलचित्रका मात्र नभएर आधुनिक गीतका भिडियोमा नाम चलेका कलाकार पनि देखिन थालेको बताउँछन् ।

कलाकारकै कारण लगानी बढ्यो १

लोकदोहोरी भिडियोको औषत लगानी ३ देखि ५ लाख रहेको निर्देशकहरु बताउँछन् । ५ लाख रुपैयाँसम्ममा राम्रो भिडियो तयार हुन्छ । तर, पछिल्लो समय भने लोकदोहोरी भिडियोको लगानी ह्वात्तै बढेको छ ।
भिडियो निर्देशकहरुको भनाईलाई मान्ने हो भने चलचित्रका चलेका कलाकारहरुले लोकदोहोरी भिडियोमा अभिनय गरेको एक लाख बढी पारिश्रमिक लिन्छन् ।

कलाकारको पारिश्रमिककै कारण लोकदोहोरी भिडियोमा लगानी ५ देखि १०–१२ लाखसम्म हुने गरेको छ ।

फेरिए मोडल
लोकदोहोरी गीतमा केही समय अघिसम्म अञ्जली अधिकारी, करिष्मा ढकाल लगायतका मोडलको माग बढी थियो । तर, अहिले चलचित्रका कलाकारको आकर्षण बढ्नु, टिकटकबाट आएका प्रतिभाहरुले पनि स्थान पाउनु आदि कारणले उनीहरुको एक छत्र राज भने तोडिएको छ । पुरुष मोडलहरुमा प्रकाश सपुत, दुर्गेस थापा, विमल अधिकारी लगायतको माग बढेको छ । तर, यी मोडलहरुले खेलेका भिडियोले पनि भ्यूज नपाएर निर्माताले लामो सुस्केरा हालेर बस्नु परेको अवस्था भने छ ।

लगानी उठाउनै सकस
गीतसंगीतको अडियो बलियो नभएसम्म गीत चल्दैन । भिडियोमा जती खर्च गरेपनि कमजोर अडियोको धरातलमा टेकेर लगानी उठाउँछु भनेर सोच्नु, असंभव जस्तै हो । यसैले पनि कुनै पनि गीतसंगीतको अडियोमा सर्जकले मिहिनेत गर्न आवश्यक छ । तर, हिजोआज केही दिन भाइरल हुने, टिकटकमा चल्ने खालका गीत खोज्दै लगानीकर्ता हिड्न थालेपछि गीतसंगीतको स्तरमा त ह्यास आएको छ नै, गीतसंगीत पनि खहरे खोला जस्तै भएका छन् । यो कुरा भिडियो निर्देशकहरु पनि स्विकार गर्छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]