सुमन बैरागी/म्यूजिकखबर

सुमन श्रापित एउटा सिद्धहस्त गीतकार हुन् । पिता स्व. भक्तबहादुर सुनार र माता बालकुमारी सुनारको कोखबाट भारतको सिलोङमा जन्मिएका उनको बाल्यकाल भने ६ वर्षको उमेरदेखि पुख्र्याैली ठाउँ तित्याङ, बाग्लुङमा बितेको थियो । पढाइँसँगै उमेरअनुसार माटाका भाँडाकुटी, एक खुट्टे, डण्डी बियो, भकुन्डो, गुच्चा, सुप्लामा चिप्लेटी जस्ता खेल खेलेर लयात्मक बाल्यकाल बिताएका थिए उनले । झण्डै २८÷३० कुरिया घर भएको हाम्रो समुदायमा एस.एल.सी. पास गर्नेमा म पहिलो थिए । गुरु गोपालप्रसाद शर्माले पढाएको मीठो, सरस, सरल र साहित्यिक भाषा शैलीले नै साहित्यिक बनाएको थियो सुमनलाई । त्यति बेलादेखि नै कविता, सायरी लेख्थें तर कहिल्यै गुरुलाई देखाउने आँट गरिनँ, उनले भने – ‘बरु पत्रपत्रिकामा छाप्नका लागि पठाउँथें । मेरो पहिलो पटक माधुरी भन्ने पत्रिकामा सायरी छापिएको थियो । गाउँबाट बजार झर्दा फिल्म हेर्न र पत्रपत्रिका किनेर पढ्ने आदत बन्यो । यसरी ममा साहित्यको बिजारोपण भयो र साहित्यप्रति अनुराग बढ्दै गयो ।’

Nepal Telecome


बाबा इण्डियन लाहुरे भएको नाताले गाउँमै पहिलो रेडियो भएको घर हाम्रो थियो । हाम्रो घरमा रेडियोमा गीत सुन्नलाई मेला लाग्थ्यो । रेडियोमा सबै खाले गीत बज्थे तर लोक गीत बज्दा गाउँका मानिस प्रायः सुन्न आउँथे । काम र पढाइलाई थाँती राखेरै भए पनि म पनि गीत सुन्थें । गीत सुन्दा सुन्दा पछि गीत र रेडियोको यति पारखी भएँ कि घाँस काट्न जाँदा, हलो जोत्दा, मेलापात जाँदा, रेडियो बोकेरै जान्थेँ । पढ्दा, लेख्दा रेडियो सुनेरै पढलेख गर्थंे सुमनले भने– ‘कल्पना गर्थें, म पनि यस्तै गीत गाउन र लेख्न सके रेडियोमा नाम आउँथ्यो ।’ त्यही रेडियो नेपालबाट गुञ्जिने गीतले उनलाई सङ्गीतप्रति मोह जगाएको थियो ।

सेवा नै धर्म हो सेवा गर मलाई
माया नै जिन्दगी हो माया गर मलाई
उनी गीत लेखनका बारेमा अनविज्ञ थिए तर पनि रेडियोमा बज्ने गीतहरुको सिको गरेर बि.स २०४९ सालमा यो गीत लेखँे । यो गीत जीवनको पहिलो गीत हो । गाउँमा साँस्कृतिक कार्यक्रमहरु गर्ने र साँस्कृतिक कार्यक्रमका लागि गीतहरु लेख्ने गाउने गर्न थाले । गीत लेख्दै जाँदा गीतले डायरी भरियो । तर मनमा रहर भने गायक बन्ने थियो । तर सोच्थें, हामी ग्रामीण पृष्ठभूमि र सामान्य घर परिवार भएकालाई यो सम्भव छैन । जब २०५२ सालतिर आफ्ना केही समकालीन साथीको गीत तथा एल्बम बजारमा आएपछि मलाई एक प्रकारको आँट र प्रेरणा जाग्यो । प्रवीणता प्रमाण पत्र तहको पढाइपछि म ३ वर्ष देशबाहिर रहें । देश फिरेपछि आफूभित्रको साहित्य सङ्गीतको मृगतृष्णा मेटाउन गाउँबाट सम्भव थिएन अनि पोखरा छिरें । पोखरामै बी. बी. अनुरागी र रामजी नेपाली पनि बस्नुहुन्थ्यो । २०५८ सालमा रामजी नेपालीले आफ्नै स्वर सङ्गीतमा मेरो रचनाको ‘कुन परी हौ भन तिमी’ बोलको गीत रेकर्ड गराउनुभयो । यो नै मेरो जीवनको पहिलो रेकर्ड भएको गीत बन्यो गीतकार सुमनले भने ।

कहिले ओराली झर्छ जिन्दगी
कहिले उकाली चढ्छ जिन्दगी
हरेक कदम कदममा घट्छ जिन्दगी
त्यसैले नाचौँ, गाऔँ, हासौँ, खेलौँ, गरौँ रमाइलो

संगीतकार बी. बी. अनुरागीसँग सहकार्य गरी आफ्नै रचना, स्वर र केही गीतमा सङ्गीत गरी लोक तथा दोहोरी गीत एल्बम ‘पूर्णिमाको रात’ बजारमा ल्याएर बर्षाैंदेखिको तृप्तता मेटाउँदै औपचारिक रुपमा सङ्गीत क्षेत्रमा प्रवेश गरेका सुमनलाई सङ्गीतप्रति मोह र प्रेरणा जगाउनुका साथै सङ्गीतका सारेगम सिकाउने गुरु पनि बी.बी. अनुरागी नै हुन् ।

जसलाई मुटुको अंश ठानेकी थिएँ, उसैले आज घात ग¥यो
जसलाई संसार आफ्नो मानेकी थिएँ, उसैले आज साथ छोड्यो
सायद मेरो माया बढी भयो, त्यसैको उसलाई मात चढ्यो
कुनै बेला चर्चाको शिखरमा रहेको यो गीतले धेरैको मन जिन्त सफल बनेको थियो । मिलन अमात्यको स्वर बीबी अनुरागीको संगीत रहेको यो गीतले आधुनिक गीतसंगीतमा एउटा पहिचान बनाएको थियो । सुमन श्रापितले गायनबाट आफ्नो कलाकारिताको यात्रा सुरु गरेका उनको स्वरमा केही एल्बम नै प्रकाशित छन् । गायन पक्ष पनि अत्यन्तै सबल हुँदा हुँदै पनि आफ्नो मुख्य विधा गीत लेखन बनाएका गीतकार सुमनको मन यति मलिलो छ कि जुनसुकै मौसममा जुनसुकै बिषयका अक्षरहरुका बिउ छरेर पनि ती भररर उम्रन्छन्, हर्लक्क बढ्छन् अनि फुल्छन्, फल्छन् सर्वत्र मगमग बासना छर्छन् । हृदयको गहिराइमा पुगेर अजम्बरी शब्दहरुको खेती गर्ने गीतका श्रापितको जीवन भने अत्यन्तै कठिन, पीडादायी र चरम व्यथाबाट गुजिँ्रदै खारिँदै आएको भए पनि सरल, सहज, शालीन, मृदुभाषी, परोपकारी, दयालु सर्वगुणले सम्पन्न देखिन्छ । भनिन्छ कसैको सिर्जनामा पनि सर्जकको स्वभाव प्रतिबिम्बित हुने गर्दछ । उनका शब्दहरुमा पनि व्यक्तिगत स्वभाव प्रष्ट देख्न सकिन्छ ।


जीवन, दर्शन, राष्ट्रप्रेम, प्रेम प्रणय, सामाजिक विकृति, विसङ्गति, चेतना, भजन सबै विधाका गीतमा उनका अक्षरहरु कोरिएका छन् । लेखनमा गेयात्मकता, सरलता, सरलतामा गहिरो भाव, रसात्मकता, स्वच्छन्दतावादी र छन्दबादी दुवै शैली, झर्रा, ठेट शब्दहरुको प्रयोग, मीठासपूर्ण शब्द संयोजन, कलाशिल्पता पर्दछन् । जसका कारण उनका दर्जनौं गीतहरु लोकको मनभित्र बस्न सफल भएका छन् ।
दर्जनौं पत्रपत्रिका एवं साहित्यिक प्रकाशनको सम्पादन गर्दै आएका उनका एकल रचनाका एल्बमहरु सुधा, संकल्प, शुभयात्रा, धुमधाम तीज, पूर्णिमाको रात, फूलपाती देवी देउतालाई जस्ता रहेका छन् भने विछोडको वेदना (संयुक्त कविता सङ्ग्रह), भावनाको खेती (गीतसंग्रह) बजारमा आइसकेका छन् । चलचित्र जीवन लीला, निशानी, दृष्टिकोण, परदेशी, र रित्तो लगायत दर्जनौं फुटकर एल्बममा उनका गीतहरु रेकर्ड भएका छन् ।