काठमाडौं । कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको गर्नका लागि ठेक्का पाएको कम्पनी ओम्नी समूहको ठेक्का खारेज गरिएको छ । सरकारले ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद भएको र महंगो मूल्यामा खरिद गरेको भन्दै बुधबार सम्झौता खारेज गरेको छ ।

Nepal Telecome

ओम्नी समूहले पर्ने मूल्यभन्दा दशौं गुणा महंगोमा सामान आपूर्ति गरेको हुँदा समूहले राखेको पाँच करोड धरौटी जफत हुने र कालोसुचीमा राख्ने प्रक्रिया अगाडि बढाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

सामान खरिदमा भ्रष्टाचार भएको, गुणस्तरहीन सामग्री ल्याएको भनेर आलोचना भएपछि सरकारले यो कदम चालेको देखिन्छ । ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिद गर्न दिने १३ चैतमा भएको हो । समूहलाई १८ प्रकारका सामान खरिदको अख्तियार दिइएको थियो । यो सम्झौता १ करोड ३ लाख ३३ हजार डलर अर्थात १ अर्ब २४ करोड नेपाली रुपैयाँ बराबरको रहेको छ ।

२३ फागुनमा टेन्डर हालेका १९ वटै कम्पनीले सामान तुरुन्तै आपूर्ति गर्न नसक्ने भएपछि यो समूहलाई खरिद अधिकार पाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगायतले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको विवरणमा हस्ताक्षर गरेका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ठेक्का लिएको समूहले समयमा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गरिएको हो ।

महामारीका बेला स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले २० प्रतिशत महंगोमा सामान खरिद गर्न लागिएको उनको भनाइ छ । तर, दोस्रो लटको सामान आउने बेलासम्म ओम्नी समूहले १० प्रतिशत मात्रै सामान दिएको श्रेष्ठ बताउँछन् ।

सरकारले अब बिहीबार नयाँ खरिद प्रक्रिया अगाडि बढाउँदैछ । तर सामान आयातका कारण कम्तिमा दुई हप्ता ढिलो हुने निश्चित भइसकेको छ ।

सरकारले ७५ हजार थान र्‍यापिड टेस्ट कीट खरिद गरेको छ । ओब्की समूहमार्फत ६ लाख डलर खरिद गरिएको हो । सरकारले प्रतिकीट ८ डलर तिरेको देखिन्छ ।

जब कि यो कीटको मूल्य साढे दुईदेखि तीन डलरभन्दा बढी नपर्ने केमिकल एण्ड मेडिकल सप्लायर्सका एक पदाधिकारीले जानकारी दिए । अधिकतम मूल्य तीन डलर राख्दा पनि ७५ हजार कीट खरिदमा ६ करोड रुपैयाँ महंगो परेको देखिन्छ ।
एक लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको स्पेनले चीनमा बनेको र्‍यापिड टेस्ट कीट प्रयोगमा रोक लगाइसकेको छ । त्यहाँको अग्रणी शोधसंस्था एसईआईएमसीले आफ्नो वेबसाइटमा चीनको सेन्जेनमा रहेको बायोइजी बायोटेक्नोलोजीले निर्माण गरेको नोज स्वाबको एक्युरेसी ३० प्रतिशतभन्दा कम देखिएको उल्लेख गरेको छ । यसरी गुणस्तरहीन सामान ल्याएर विरामीको स्वास्थ्यमाथि गरिने लापरवाहीको जिम्मा कसले लिने ? त्यस्तै सामान ल्याउन ढिलाई भएका कारण बिरामीको ज्यान गयो भने त्यसको जिम्मेवारी कसले लिने ? यो गम्भीर चासोको विषय बनेको छ ।